• २०८२ चैत्र २९, आईतवार

जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ लोकार्पण तथा परिचर्चा सम्पन्न

हङकङ ।

साहित्यकार जुनू रानाको दोस्रो कृति ‘लाहुरेनी सौन्दर्य’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम हङकङमा सम्पन्न भएको छ । हङकङ साहित्यिक साझा श्रृङ्खलाको आयोजनामा सोमबार एभरेष्ट होटलमा आयोजित कार्यक्रममा जिल्ला काउन्सिलर अरुणा गुरुङको प्रमुख आतिथ्यतामा कृतिको औपचारिक लोकार्पण थियो । कार्यक्रममा कृतिमाथि श्रृङ्खलाका संरक्षक राजकुमार राई, समीक्षक डा. चुना थापा, साहित्यकार जानु काङमाङ लिम्बु र डा. टीका रानाले समीक्षात्मक धारणा राख्नुभएको थियो ।

समिक्षकहरूले ‘लाहुरेनी सौन्दर्य’लाई बहुआयामिक कृतिका रूपमा चित्रण गर्दै एउटै पुस्तकमा साहित्यिक र गैरसाहित्यिक दुवै स्वरूप समेटिएको उल्लेख गर्नुभयो । राजकुमार राईले कृतिमा नियात्रा, संस्मरण, कथा, निबन्ध तथा समिक्षा जस्ता विविध विधाका रचनाहरू समेटिएको भन्दै यसको समग्र मूल्यांकन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

डा. चुना थापाले कृतिले नेपाली साहित्यमा नयाँ विमर्श थपेको उल्लेख गर्दै ‘लाहुरेनी’ पात्र र ‘सौन्दर्य’को अवधारणालाई एस्थेटिक दृष्टिकोणबाट विश्लेषण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यसलाई लाहुरे जीवनको समग्र यात्रा झल्काउने कृतिका रूपमा समेत व्याख्या गर्नुभयो । साहित्यकार जानु काङमाङ लिम्बुले पुस्तकका विभिन्न रचनाहरू उल्लेख गर्दै नयाँ शैली र प्रस्तुतीकरणले आफूलाई प्रभावित बनाएको बताउनुभयो । त्यसैगरी डा. टीका रानाले ‘लाहुरेनी सौन्दर्य’ केवल बाह्य सुन्दरतामा सीमित नभई सामाजिक दृष्टिकोण परिवर्तन गर्ने विचार समेटिएको कृति भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनआरएनए हङकङकी अध्यक्ष अनु राई, नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, किरात राई प्रज्ञा प्रतिष्ठानका उपकुलपति किन्दर राई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । जुनू रानाको पहिलो कृति ‘रातो नदी’ यसअघि प्रकाशित भइसकेको छ । उहाँ हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजकसमेत हुनुहुन्छ । उहाँकै सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सह–संयोजक रोशन यक्सोले गर्नुभएको थियो ।