• २०८२ चैत्र २३, सोमबार

भूमिराजको कथासङ्ग्रह ‘विक्रमादित्य ! यसको उत्तर भन !’ सार्वजनिक तथा परिचर्चा

पोखरा ।

कथाकार भूमिराज बस्ताकोटीको कथासङ्ग्रह ‘विक्रमादित्य ! यसको उत्तर भन !’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार सरुभक्त प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सरुभक्त, विशिष्ट अतिथि रमेश श्रेष्ठ, परिचर्चाकारद्वय प्रा. डा. विष्णुप्रसाद पौडेल र डा. सवीन्द्रराज भण्डारी, संस्थाका अध्यक्ष सुरज पौडेल तथा स्रष्टाका मातापिताले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

प्रमुख अतिथि सरुभक्तले स्रष्टाले पाठकको विविध अपेक्षालाई समेटेर सिर्जना गर्दा व्यापक प्रभाव पार्न सक्ने उल्लेख गर्दै बस्ताकोटीका कथाले त्यो दायित्व सफलतापूर्वक निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो । कृतिमाथि परिचर्चा गर्दै प्रा. डा. विष्णुप्रसाद पौडेलले सङ्ग्रहमा समेटिएका २२ कथालाई लामा, मध्यम र छोटा रूपमा वर्गीकरण गर्दै छोटा कथामा बस्ताकोटीको कथाशिल्प सशक्त रहेको बताउनुभयो । उहाँले विभिन्न विषय र शिल्पका कथा समेटिए पनि विनिर्मित कथाहरू विशेष रूपमा प्रभावशाली रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै डा. सवीन्द्रराज भण्डारीले बस्ताकोटीका कथामा आधुनिक र उत्तरआधुनिक शिल्पसँगै अधिआधुनिक मान्यताहरूको प्रयोग भएको बताउनुभयो । उहाँले केही कथाले काफ्का जस्ता विश्वप्रसिद्ध कथाकारको अनुभूतिसँग मेल खाने प्रभाव सिर्जना गरेको धारणा राख्नुभयो । विशिष्ट अतिथि रमेश श्रेष्ठले आफू कविताका विद्यार्थी भए पनि कथाविमर्श सुन्न पाउँदा कार्यक्रम अत्यन्तै सार्थक भएको प्रतिक्रिया दिनुभयो । कन्या क्याम्पस पोखराका प्रमुख सुरेशकुमार मानन्धरले बस्ताकोटीलाई क्याम्पसको गहना भन्दै कृति प्रकाशनप्रति बधाई व्यक्त गर्नुभयो ।

स्रष्टा बस्ताकोटीले कथा सिर्जनाको मूल प्रेरणा मानवीय प्रतिक्रिया र अनुभवसँग जोडिएको बताउँदै कथा मानव चेतनासँग गहिरो रूपमा सम्बन्धित हुने धारणा व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव डा. पीताम्बर पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।