• २०८२ चैत्र १९, बिहीबार

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ को मनोनयन घोषणा

काठमाडौँ ।

गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामबेँसीका कवि’ क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापना गरेको ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ को मनोनयन (सर्टलिस्ट) सार्वजनिक गरेको छ। देशभरबाट प्राप्त कवितासङ्ग्रहहरूको आन्तरिक मूल्याङ्कन पश्चात् आयोजकले उत्कृष्ट चार कृतिको नाम घोषणा गरेको हो ।

सबिना राईको कृत्ति ‘घामको जरा’, उमेश अवस्थी ‘आदर्श’को कृत्ति ‘सन्ध्यामा सूर्य’, सिम्योन सुकिता राईको कृत्ति ‘सिम्योन सिम्फोनी’ र दोस्ताजको कृत्ति ‘एकदिन मानिसहरू फर्किनेछन्’ शीर्ष ४ मा मनोनीत भएका हुन्।

नेपाल कलेज अफ म्यानेजमेन्ट को आयोजनामा प्रदान गरिने यस पुरस्कारको विजेता घोषणा आगामी २०८३ वैशाख ४ गते ’एनसीएम डे’ को विशेष समारोहका बीच गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिताका लागि २०८१ फागुन १ गतेदेखि २०८२ फागुन १ गतेभित्र प्रकाशित भएका कवितासङ्ग्रहहरूलाई समावेश गरिएको थियो।

युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको यो पुरस्कार अघिल्लो वर्षदेखि प्रदान गरिँदै आइएको छ। यस पुरस्कारले ३५ वर्ष मुनिका युवा कविहरूलाई उनीहरूको मौलिक र उत्कृष्ट कृतिको लागि सम्मान गर्ने उद्देश्य लिएको छ ।

गत वर्ष ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट कवि सिजन श्रेष्ठको कविता कृति ’हावामा अल्झिएको स्वर’ पुरस्कृत भएको थियो ।