समाचार
काठमाडौँ ।
वरिष्ठ कवि एवं नाटककार साहित्यकार वासु शशीको साहित्यिक योगदानको चर्चा तथा चार स्रष्टालाई पुरस्कार एवं सम्मान गर्दै ८६ औं वासु शशी जन्मजयन्ती मनाइयो । वासु शशी स्मृति परिषद्को आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले वरिष्ठ कवि शैलेन्द्र साकारलाई वासु शशी साहित्य सम्मान- २०७८, कवि राधेश्याम लेकालीलाई वासु शशी साहित्य पुरस्कार-२०७७, कवयित्री मोमिलालाई वासु शशी साहित्य पुरस्कार-२०७८ र कथाकार धु्रव मधिकर्मीलाई कुमार–सरस्वती साहित्य पुरस्कार-२०७८ प्रदान गर्नुभयो ।
सम्मान तथा पुरस्कार वितरणपछि प्रमुख अतिथि के के कर्माचार्यले संरचनाका दृष्टिले साहित्य र कला छुट्टाछुट्टै विधाका विषय भए पनि प्रत्येक विधाको सम्बन्ध मानवीय जीवनसँग जोडिएको हुन्छ भन्दै कवि शशी र समालोचक जोशीका सिर्जनाले त्यही सम्बन्धलाई थप मजबुत बनाएको छ भन्नुभयो । परिषद्का अध्यक्ष गणेश रसिकले नेपाली साहित्यमा वरिष्ठ कवि एवं नाटककार वासु शशी र वरिष्ठ समालोचक कुमारबहादुर जोशीको योगदानलाई जीवन्त राख्न परिषद्ले सम्मान तथा पुरस्कारका साथै विविध कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत गर्नुभएको थियो भने सम्मानित स्रष्टाहरु लगायत कथाकार गोविन्द गिरीप्रेरणा र यादव भट्टराईले पनि बोल्नुभएको थियो । सोही अवसरमा विमल भौकाजीद्वारा सम्पादित शारदा पत्रिकाको कवि वासु शशी स्मृति अंक सार्वजनिक पनि गरिएको थियो ।
