• २०८२ चैत्र १५, आईतवार

एक्लोपन

गोविन्द सुबेदी

गोविन्द सुबेदी

एक्लोपन-
भीडको बीचमा उभिँदा पनि
मनभित्र फैलिएको
नबोल्ने सहर हो,
जहाँ आवाजहरू छन
तर सुन्ने कोही छैन ।

एक्लोपन-
रातको शान्तिमा
आफैँसँग मात्र
लामो संवाद हो,
जहाँ प्रश्न धेरै छन
तर उत्तरहरू
डराएर लुकेका छन ।

एक्लोपन-
साथीहरूको हाँसोबीच
अचानक महसुस हुने
अनावश्यक अस्तित्व,
जसले सम्झाउँछ-
उपस्थित हुनु र
अपनाइनु एउटै होइन ।

एक्लोपन-
आफ्नै छायाँसँग
चिनजान बढ्दै जाने अवस्था,
मान्छेभन्दा
मौनतासँग
धेरै विश्वास लाग्ने समय ।

एक्लोपन-
कमजोरी मात्रै होइन,
यो त
आत्माको नाङ्गो ऐना हो,
जहाँ भाग्न सकिँदैन,
र आफैँलाई
देख्नैपर्छ ।

र पनि-
यही एक्लोपनले
आफ्नो मूल्य बुझाउँछ,
किनकि
जो एक्लै बस्न सक्छ,
ऊ नै
साँचो सम्बन्धको
महत्व चिन्न सक्छ ।


गोविन्द सुबेदी
२०८२/०९/१५ गैंडाकोट-२, नवलपरासी