समाचार
काठमाडौं ।
कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९०औँ जन्मजयन्तीको अवसरमा विभिन्न साहित्यिक पुरस्कार समर्पण गरिएको छ । वासु शशी स्मृति परिषदद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार प्रदान गरिएको हो । यसैगरी वासु शशी स्रष्टा पुरस्कार २०८२ साहित्यकार जयदेव भट्टराईलाई तथा कृष्ण–सरस्वती साहित्य पुरस्कार २०८२ साहित्यकार हरि मञ्जुश्रीलाई समर्पण गरिएको परिषद्ले जनाएको छ ।पुरस्कारहरूको राशि क्रमशः वासु शशी साहित्य पुरस्कारका लागि नगद २५ हजार रुपैयाँ, वासु शशी स्रष्टा पुरस्कारका लागि २१ हजार तथा कृष्ण–सरस्वती साहित्य पुरस्कारका लागि २५ हजार रुपैयाँ रहेको थियो ।
परिषद्का अध्यक्ष गीतकार कालीप्रसाद रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीतकार तथा चलचित्र निर्देशक यादव खरेल प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति कवि डा. विष्णुविभु घिमिरे, परिषद्का सल्लाहकार राधेश्याम लेकाली तथा कृष्ण–सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशीलगायतको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले वासु शशीसँगको सम्बन्ध स्मरण गर्दै उहाँलाई नम्र र अभिमानरहित व्यक्तित्वका रूपमा चित्रण गर्नुभयो । उहाँले वासु शशीका गद्य र पद्य दुवै विधामा थुप्रै कृतिहरू रहेको उल्लेख गर्दै ती कृतिहरू पुनः प्रकाशन गरी बजारमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले पुरस्कृत स्रष्टाहरूलाई बधाई दिँदै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सभापतिको आसनबाट बोल्दै कालीप्रसाद रिजालले वासु शशीको जीवनका अन्तिम क्षणहरूको स्मरण गर्दै उहाँ असाध्यै भद्र र प्रबुद्ध व्यक्तित्व भएको बताउनुभयो । उहाँले वासु शशीबाट प्रेरणा लिएर नयाँ पुस्ताले सृजनामा लाग्नुपर्नेमा जोड दिनुभयो । परिषद्का उपाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गर्दै उहाँहरूको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो । उहाँले वसन्त चौधरीले उद्योग व्यवसायसँगै साहित्य, गीत–सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान दिएको चर्चा गर्नुभयो । चौधरीका २१ कृतिहरू प्रकाशित भइसकेका र केही कृतिहरू हिन्दी तथा अंग्रेजी भाषामा अनुवादसमेत भएको जानकारी दिनुभयो । त्यसैगरी जयदेव भट्टराईको साहित्यिक पत्रकारिता तथा नवलेखक प्रोत्साहनमा योगदान उल्लेखनीय रहेको तथा हरि मञ्जुश्रीका तीन दर्जनभन्दा बढी कृतिहरू र सयभन्दा बढी सम्पादित कृतिहरू प्रकाशित भइसकेको जानकारी कार्यक्रममा दिइएको थियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले मन्तव्य व्यक्त गर्दै वासु शशी तथा कवि कृष्ण जोशीका नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा गौरव लागेको बताए । परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्दै वासु शशी साहित्य पुरस्कार २०५७ सालदेखि सञ्चालनमा रहेको र वासु शशी स्रष्टा पुरस्कार यसै वर्षदेखि सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रममा वासु शशी तथा कृष्ण जोशीको तस्वीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन कवि ठाकुर बेलवासेले गर्नुभएको थियो ।
