• २०८२ चैत्र १५, आईतवार

दिनेश थपलियाको पुस्तक ’विचित्रको लोकतन्त्र: गजबको निर्वाचन’ विमोचित

काठमाडौँ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक ’विचित्रको लोकतन्त्र ः गजबको निर्वाचन’ सार्वजनिक भएको छ । परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबीचको अन्तरसम्बन्धलाई आत्मअनुभूति र विश्लेषणात्मक दृष्टिबाट प्रस्तुत गरिएको यस कृतिले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझ्ने प्रयास गर्छ । सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा लेखिएको यस पुस्तकमा इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको समग्र परिप्रेक्ष्य समेटिएको छ ।

यो पुस्तक अवलोकन प्रतिवेदन मात्र होइन; अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय वर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति तथा डिजिटल युगका चुनौतीहरूबारे गहन विमर्श हो । साथै, भारत, थाइल्यान्ड, भुटान, युरोप, अस्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लोकतन्त्रका शक्ति र विरोधाभास दुवैलाई उजागर गरिएको छ ।

लेखक थपलियाले आफ्नो कार्यकालमा संघीय संरचनाअनुसारका प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराउँदै सार्वजनिक प्रशासनमा उच्चस्तरीय व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका छन् । प्रशासनिक प्रणालीका सूक्ष्म विश्लेषक, लोकतन्त्रका अनुभवी अभ्यासकर्ता तथा समाज परिवर्तनका चिन्तकका रूपमा परिचित थपलिया नेपाली भाषा–साहित्यका सशक्त सर्जक पनि हुन् । यो उनको छैटौं प्रकाशन हो ।