समाचार
दुःख चिच्याएर निस्कंँदैन
चुपचाप बस्छ
मेरो हृदयको छेउमा,
र मसँगै सास फेर्न सिक्छ
दु;ख त भरिएको मौनता हो
बिना नामको थकाई,
मानौँ संसारले
राम्रो चिजको वास्तविक रंग
गलत ठाउँमा पोतेको छ
र त
दिनहरू सुस्त हुन थाल्छन्,
शब्दहरू कम्जोर लाग्छन्
र सपनाहरू पनि
झुकाएका आँखाले
सडकहरू पार गर्न सिक्छन् ।
यधपि
म केवल व्यथाको नदी होइन,
म स्त्री हुँ
जसले आँसु भित्रै जमाएर
आफ्नै आवाज जोगाइरहेकी हुन्छे
समाजले मेरो मौनतालाई
कमजोरी सम्झिन्छ,
तर यो मौनताभित्र
बाँचिरहेको
अडानको एउटा उज्यालो दीप छ
अडान लिँदा लिँदै
दुःख पनि एउटा शिक्षक बन्छ
देखाउँछ कहाँ दुख्छ,
जहाँ हेरचाह बिर्सिएको र
आफैंलाई लापरवाही गरि छोडिएको हुन्छ
र त्यहीँबाट
म आफूलाई फेरि उठाउँछु
भत्किएका सपनाको धुलोबाट,
अस्वीकृत आवाजहरूको भीडबाट
किनकि म केवल स्त्री होइन,
म परिवर्तनको कथा पनि हुँ
आफ्नो पीडालाई शब्द बनाउने
आफ्नो मौनतालाई आन्दोलन बनाउने
लगातार लगातर दुःखले मलाई झुकायो होला,
झुक्याइरहेको छ
तर यसले मलाई सिकायो र सिकाइरहेको छ
स्त्री हुनु भनेको अथवा म हुनु भनेको
टुटेर पनि
फेरि उज्यालो बन्न सक्ने शक्ति हो ।.
केवरा भट्टराई, काठमाडौँ