कविता
पुरुष साम्राज्य भित्र
बजाइएको
नारी दिवसको ढोलकमाझ
नसुनिएको चीत्कार ।
हो, भर्खरै मात्र मनाइएको छ
नारी दिवस
समग्र विश्वभरि,
आवाज र अक्षरमा
सान्दर्भिक र औचित्यपूर्ण
गहकिला शब्द र भाषणमा
विश्व बदलिएको भान
अझै नारी सँगै बालबालिकाको सम्म
न्यायको लागि ढोलक
विश्व बजारमा आवाज पुग्ने गरि बजाइयो
तर,
पुगेन त्यो क्रुरताको अन्त्यहिन गोरेटो
सम्म,
पुगेन त्यो नरभंक्षी, दुस्टताको
अन्तर्मम सम्म,
पुगेन त्यो आँगनिमा खेलिरहेकी
पुस्तक समाईरहेकी
बालिकालाई
गिद्दे नजर लगाउने र तथानाम अपमान
गर्ने हिंस्रक आफन्त वा प्रेमी
नामको कुविचारी सम्म,
पुगेन त्यो आवाज,
हातमा पुस्तक बोकेर भविष्य
बनाउन कुदिरहेकी एक विवस
बालिकाको जीवन
नरक बनाउने क्रूर अनुहार सम्म !!
हो, त्यो पात्र अब धेरै टाढा छैन,
त्यो त अब एउटै घरको छाना,
एउटै स्कुलको छाना,
एउटै बाटोमा हिड्ने बटुवा,
रगतको वा पछि बनेको
आफन्त भेषको
कपटि हुन सक्छ
यो पटक पटकको
समाचार हेरेर ए वा बिचारा भन्ने कान
आँखा नभएको समाज सामुबाट
जसले पहरेदारी सिर्फ छोरीलाई गर्न सिक्यो,
अनुशासनका ठुला ठेली छोरीलाई
घोक्न सिकायो,
आफ्नो क्रुरता बाहिर आउने डरमा
हरदम सहनशीलको नमुना बन्न
लगाई,
जिवित अस्तित्व तिलान्जली दिन लगाई
ढुङ्गा जस्तो बन्न लगायो,
तर पनि बालिका वा नारी एउटा
जीवन हो भन्ने बिर्सेर
पटक पटक बोक्न नसक्ने
भारी काँधमा बोली
पुरुष सरहको मैदानमा कुद्न
लगायो,
तर
कहिँ दुष्ट आफ्ना नामका,
नाता, आफन्त, जन्म घर वा कर्म घरको
शकुनि पासामा परेर छोरीले ज्यान दिनु पर्ने
अवस्था आउँदा पुनः नारीकै चरीत्रमा खोट
देखाउने हे नलायक
जिवित भएर पनि
निर्जीव मस्तिष्क बोकेका
कुटिल, हिंस्रक अनुहारहरुको
तिम्रो साम्राज्य ढलाउन अबको
युग कृष्ण बनेर नारी योद्धा नै
आउनु परेको हो ??
अब हातमा कलम दिए जस्तो गरेर
तिम्रा समाज्यमा
चक्रब्युह निर्माण गरि दिमाग भरी
कर्तव्यको नाममा
सन्तानको, चुलो र चुकाको अनि
संस्कारको भारी बोकाउने कुटिल
मान्यजनको रुपमा सोच्न पनि नसकिने
त्यो आफ्नो बनेर जुन खेल
रचिरहेको छौ नि तिम्रो दम्भको
अबसान जरुर नै हुनेछ छिटै,
यहाँ मृत्यु पछिमात्र अधिकारको
ढोलक बजिरहने हुनाले
अब नारीले मर्नु अगाडी नै
सुरक्षा र सम्मानको ढोलक
बजाउने समय निर्माण गर्न
ढिलो भैसक्यो,
जसको निमित्त पुरुष साम्राज्यका
नाइकेको जबसम्म
एक नारीको प्रतिष्ठामा आँच ल्याउन
अर्को नारीकै अनुहार निस्किन बन्द हुन्छ,
गलत परिस्थितिमा
पर्दा पनि कमजोर, दलित र
उपेक्षित वर्गमा राखी सामन्तबादले
कोमल कर्मशिल स्त्रीहरुको
हरदिन परीवारको नाममा
मानसिक हिंसा गर्न,
अस्मिता लुट्न, अपहरण र हत्या गर्न
बन्द गर्छन नि त्यही दिन मात्र बज्नेछ,
सहि अर्थमा नारी दिवसको संगित,
अनि मात्र हुनेछ प्रकृतिको पुजा,
अनिमात्रा खुशी हुनेछन्
मन्दिरका देविहरुको स्वरुप,
नत्र त मन्दिरमा पशु बलि दिएको
जस्तो हर प्रहर नारीले अहंकारपुर्ण पुरुष
सम्राज्यमा कठ्पुतलि बन्दै आँसु र रगतको
भेलमा
जीवन आहुती दिने क्रम रोकिने छैन,
एक छोरीको, बालिका, युवती हुँदै
बुहारी हुँदा लुछिएका
ती मानसिक आघातका पलहरु
फक्रन नपाउँदै आफ्नै बगैंचामा
निमोठिएका ती तमाम
निर्दोष कोपिलाहरुको ।।
सुशिला शर्मा “ शिलु“