यस्तो लाग्दैछ
अचानक अडिएको छ समय
र कतै
कृष्ण र अर्जुनको संवाद
चलिरहेको छ
बतास, प्रकाश, नदी
सबै यथावत
मात्रै
अडिएको छ समय
र योद्धाहरूको
वर्तमान
निःशब्द
निस्सार
अनिर्णय
के हुन लाग्दैछ
केही त हुँदैछ
प्रकृति
ईश्वर
ब्रह्माण्ड
मान्छेको उन्माद
विश्रृङ्खल
र अराजकतासँग
रिसले चुर समय
अर्काे महाभारतको तयारी
सायद तयारीमा
सम्झाउँदैछन् कृष्ण
अर्जुनलाई
कतै एकान्तमा
र भन्दैछन्
भनेकै त थिएँ
कलियुगका सम्भावित
परिदृश्यहरू उहिल्यै
एउटै दुर्याेधनले हैरान
त्यो युग
र सहस्र दुर्याेधनले आजित
यो युग
युद्ध त हुनै थियो
अर्जुन
शान्त, मौन र शस्त्र–अश्त्र
र एटमविनाको युद्ध
भन्दै होलान् कृष्ण
अर्जुनलाई
मान्छेका अहंका कथाहरू
धर्म नामका आडम्बरका बेलिविस्तारहरू
पापी शासक र जर्जर मुलुकहरू
उन्मत्त बहुला हात्ती–सवार
दानव अनुहारहरू
र मिसाइलका उन्मादहरू
मानौँ हिरण्यकशिपु, कंश
र हिटलरका भूतहरूले आक्रान्त समय
परिवर्तन त हुनै थियो
र सायद
घरघरका ढोकाहरू
बन्द गर्ने आदेश दिँदै
ब्रह्माण्ड
एउटा अर्काे महाभारतको तयारीमा छ
ठीक यही वेला
समय रोकेर अनायास
अर्जुनलाई सम्झाउँदैछन्
कतै एकान्तमा कृष्ण
यदा यदा ही धर्मस्य
ग्लानिर्भवति भारत !
………………………………………………………
(प्रसिद्ध साहित्य–शिल्पी मल्ल स्थापित रङ्गकर्मी पनि हुन् ।)