रात निकै लामो थियो,
अँध्यारोले शहर मात्र होइन-
मनको कुनाकाप्चासमेत ढाकेको थियो ।
हावाले पनि थकित स्वरमा
पुराना पीडाहरू दोहोर्याइरहेको थियो,
जस्तो लाग्थ्यो
मानौँ देशले आफ्नै उज्यालो बिर्सिसकेको हो ।
तर समय सधैँ एउटै रहँदैन ।
पूर्वको आकाशमा
कुनै अदृश्य हातले
हल्का सुनौलो रेखा कोर्दै गर्दा
निदाएका पातहरू हल्लिए,
चिसो शीतका थोपाहरू
बिहानको गीत गाउन थाले ।
त्यो क्षण-
आशा पलाएको समय थियो ।
टुटेका सपनाहरूले
फेरि आँखा खोल्न सिके,
हारले थाकेका पाइलाहरूले
फेरि बाटो खोज्न थाले ।
मानौँ
भित्र कतै दबिएको विश्वास
फेरि अंकुराउन थाल्यो ।
नदीले आफ्नो बहाव सम्झियो,
पहाडले आफ्नो उचाइ,
र मान्छेले-
आफ्नो साहस ।
हिजो जसले
अन्धकारलाई अन्तिम सत्य ठानेका थिए,
आज उनीहरूकै आँखामा
नयाँ बिहान चम्किरहेको थियो ।
किनकि आशा
सानो उज्यालो बनेर
मनको झ्यालमा टकटक गर्दै ।
ठूलो घोषणासँग आउँदैथियो,
बिरुवाको सानो अंकुरझैँ
यसले माटो चिर्दै भन्छ-
“अझ जीवन बाँकी छ ।”
र जब मानिसले
त्यो सानो आवाज सुन्छ,
उसका हातहरू
फेरि परिवर्तनका लागी उठ्छन,
आँखाहरू
फेरि सपना देख्न थाल्छन ।
त्यसपछि
सहरका गल्लीहरूमा,
खेतका आलिहरूमा,
बालकको निष्कलुष हाँसोमा,
आमाको प्रार्थनामा
एकैपटक उज्यालो फैलिन्छ ।
त्यो क्षणमा
संसार पूर्ण हुँदैन,
तर सम्भावनाले भरिएको हुन्छ ।
किनकि
आशा उदाएको समय
सिर्फ घाम लाग्ने क्षण होइन-
यो त मानिसको मनमा
विश्वास फेरि जन्मिने समय हो ।
र जहाँ विश्वास जन्मिन्छ,
त्यहाँ बाटाहरू खुल्छन,
भोलि उज्यालो हुन्छ,
र जीवन
फेरि मुस्कुराउन थाल्छ ।
२०८२-११-२४ गैंडाकोट–२, नवलपरासी