काठमाडौँ- कवि हरिशरण परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक भएको छ । बेला पब्लिकेसन्सद्वारा प्रकाशित संग्रहलाई आइतबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि परियारसहित लेखक एवं समाजवादी चिन्तक आहुति, उज्वल प्रसाई, विभूति भट्टराईले लोकार्पण गरे ।
नेपाली समाजको जात व्यवस्थाले आफूमाथि पारेको प्रभाव र आफ्नो सम्पूर्ण भोगाईहरु ‘कैँची’का रूपमा आएको कवि परियारले व्यक्त गरे । यसलाई आफ्नो मात्र नभएर व्यवस्थाले थिचिएका सबैका लागि आन्दोलनका हिस्साका रूपमा लिन पनि उनले आग्रह गरे ।
संग्रहमाथि टिप्पणी गर्दै आहुतिले कविले आफ्नो भोगाईको आवेगलाई प्रारम्भिक चरणमा प्रस्तुत गरेको धारणा राखे । व्यवस्था परिवर्तनका लागि हिँडेको सत्ता र विचार नै धुमिल भएको ठहर गर्दै उनले अबको सिर्जनाको धार, वर्ग र कित्ता समेत सैद्धान्तिक रुपमा बहस हुन जरुरी रहेको बताए । ‘आमूल परिर्वतनका लागि हिँडेकाहरूनै भजन गाउँदै छन्’, उनले भने,‘परिवर्तनका लागि आएका आजको सिर्जनाहरू कुन धार, कुन वर्ग भनेर खुट्याउन सकेको अवस्था छैन । यो अन्योललाई विचार केन्द्रित भएर घनिभूत बहस हुनुपर्छ ।’ संग्रहले प्रयुक्त बिम्बलाई नवीन ढंगमा ल्याएको ठहर गर्दै उनले कवि परियारलाई युग अनुसार बिम्बको प्रयोगमा ध्यान दिन आग्रह गरे ।
कवितामाथि टिप्पणी गर्दै भट्टराईले कवितासंग्रहमा रहेका कविता यो व्यवस्थाका लागि उठेको आन्दोलनका रूप हुन् । कविताको सामान्य नियमभन्दा बाहिर रहेर शालीन र सामान्य रुपमा बोलेका कविताका शब्द कविको मात्र नभएर सिंगो उत्पीडित समुदायको हो भन्ने उनको भनाई थियो ।