समाचार
काठमाडौँ ।
लोकप्रिय आख्यानकार, कवि, साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ को बालकथासङ्ग्रह ’मेरी छोरी मान्याझ को लोकार्पण भएको छ। राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोजना गरेको उक्त लोकार्पण कार्यक्रममा समीक्षा कार्यक्रम पनि भएको हो । प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथासङ्ग्रहको लोकार्पण गर्दै इन्द्रकुमार श्रेष्ठ सरित् एक समर्पित र अब्बल कथाकार भएको चित्रण गरेकी थिइन्। उनले ’बालमनोविज्ञानलाई आत्मसात् गरेर सरित् ले लेखेको ’मेरी छोरी मान्य’ उत्कृष्ट बालकथासङ्ग्रह भएको चर्चा गर्दै ती कथाहरूले बच्चालाई जीवन र समाज बुझ्न सहज तुल्याएको उल्लेख गरेका थिइन् ।
विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार इन्द्रकुमार श्रेष्ठ सरित् को ’मेरी छोरी मान्य’ मूलतः बालबालिकाको चेतना तह र मनोविज्ञान अठ्ठ्याएर रचना गरिएको कृति हो । यसमा समाजको सौन्दर्य, गतिविधि र वातावरण बुझाउन खोजिएको छ । त्यहाँ समेटिएका बालकथाहरू प्रायः बालबालिकालाई उत्प्रेरित गर्न सामथ्र्य राख्ने खालका छन्। सरित् को लेखन क्षमता बहुआयामिक विशेषताको रूपमा देखापरेको चित्रण गरेका थिए ।
विशेष अतिथि साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार सरित् को लेखनमा बालमनोविज्ञान चामत्कारित रूपमा आएको बताएका थिए । साहित्यकार तथा समालोचक डा. छायादत्त न्यौपानेले सरित्को बालकथासङ्ग्रह ’मेरी छोरी मान्य’ ले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रोत्साहित गर्न सफल रहेको चर्चा गर्दै समाजमा व्याप्त विकृति र विसङ्गतिविरुद्ध ती कथाले जीवन, समाज र ज्ञानबिचको तादात्म्यबारे आफ्नो दृष्टिकोण राखेका थिए । लोकार्पित कृतिका सर्जक इन्द्रकुमार श्रेष्ठ सरित् ले बालसाहित्य कुनै खरिदारको टेबलवर्क जस्तो नभई आफू बाँचिरहेको समयमा व्याप्त बालमनोविज्ञानमा आधारित हुनुपर्छ। जसमा आफूले सामयिक घटना,पात्र र उद्देश्यलाई सन्तुलित रूपमा मिलाउन सक्नुपर्छ। यो नै समाजपयोगी बालसाहित्य लेखनको मेरुदण्ड बन्ने बताए ।
दुर्बिन शर्मा ’विवेक’ को अनुसार कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारका प्रिन्सिपल कृष्णकुमार बहोराले आफूले विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा समेत सक्रिय तुल्याएको बताए । ’मेरी छोरी मान्याझ निकै प्रेरणादायी र पठनीय भएकाले नै विद्यालयले लोकार्पण तथा समीक्षात्मक कार्यक्रम राखेको बताए । नियमित पठनपाठनबाहेक सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा समेत अब्बल यस राइजिङ बोर्डिङ स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा. रचना नकर्मी लगायतले आआफ्नो धारणा राखेका थिए ।
लोकार्पित कृतिमाथि उक्त विद्यालयका विद्यार्थी उत्सान गिरी, स्मृति , प्रमिशा कँडेल र रिसिका गुरुङले मिहीन ढङ्गबाट कृतिको समीक्षा गरेका थिए । साथै, कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गरेका थिए ।
