समाचार
सिलगढी (भारत) ।
दार्जिलिङ टुक्का साहित्य समाजको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘नारी टुक्का कविता संयुक्त सङ्ग्रह’ लोकार्पण तथा विशेष साहित्यिक समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
सिलगढीस्थित बराल बगैँचामा आयोजित कार्यक्रममा समाजसेवी तथा गायिका रोजी राईको प्रमुख आतिथ्य तथा साहित्यकार विष्णु थापाको अध्यक्षतामा कृति विमोचन गरिएको हो। कार्यक्रममा कवि अर्जुन शर्मा निरौला, पत्रकार हरिप्रसाद शर्मा ‘आत्रेय’ र आशा गुरूङलगायत साहित्यिक व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
विमोचित संयुक्त सङ्ग्रहमा दार्जिलिङका ८ जना र नेपालका २८ जना गरी कुल ३६ जना नारी टुक्काकारका रचनाहरू समेटिएका छन्। यसले नेपाल र भारतका नेपाली भाषी नारी स्रष्टाहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ। कृतिको संयोजन भारतबाट हन्नाह छेत्रीले गर्नुभएको हो ।
कार्यक्रमको अर्को आकर्षण रचना वाचन र सांगीतिक प्रस्तुति रहेको थियो । बाल टुक्काकार कुशल विश्वकर्मा र करूणा विश्वकर्माले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै रमा गुरूङ, बिबा तामाङ, हन्नाह छेत्री, सरोजा बान्तवा ‘पीयूष’, अम्बिका राणा, सरस्वती शर्मा र शान्ति भूजेलले समसामयिक तथा नारी चेतनासँग सम्बन्धित टुक्का कविताहरू वाचन गर्नुभएको थियो ।
साहित्यकार रमेश दाहाल ‘अपजसे’ र निमा तामाङले कविता तथा गजल वाचन गर्नुभएको थियो भने गायक योन्टेन भोटिया, सरस्वती शर्मा र रोजी राईलगायत स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
प्रमुख अतिथि रोजी राईले समाज विकासमा नारीको भूमिका र अधिकारबारे प्रकाश पार्दै टुक्का कवितामार्फत नारी सशक्तीकरणमा पुगेको योगदानको प्रशंसा गर्नुभयो ।
हन्नाह छेत्री र सरोजा बान्तवा ‘पीयूष’को संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार रमेश दाहाल ‘अपजसे’ले गर्नुभएको थियो ।
