समाचार
काठमाडौं ।
लेखक आर सुरेन्द्रद्वारा लिखित तीर्थयात्राहरूको सँगालो ‘आशीर्वाद’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । आइतबार (फागुन १७) काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली लगायतले उक्त पुस्तक सार्वजनिक गरे ।
प्रमुख अतिथि पराजुलीले तीन ‘मा’ बोकेर आएको आशीर्वादले मातृत्व, मातृभूमि र मानवताका विषयमा चर्चा गरेको उल्लेख गरे । उनले सुरेन्द्रको यस यात्राकृतिमा सभ्यतासँग जोडिएका अभिव्यक्तिहरू रहेको बताए । सार्वजनिक कृतिमाथि समीक्षात्मक चर्चा गर्दै डा. विष्णु दाहालले सार्वजनिक पुस्तक पठनीय भएको उल्लेख गर्दै कृतिमा यात्रासँगै आध्यात्मिक विषयवस्तु समेटिएको बताए । उनले कृतिभित्रका केही प्रसंगहरूको चर्चा गर्दै त्यसमा केही सुधार गर्नुपर्ने पनि सुझाए ।
कार्यक्रममा रविराज थापा, डा. शास्त्रदत्त पन्त, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित हिन्दु र बौद्ध धर्मगुरुहरूले आफ्ना धारणा राखे । उक्त अवसरमा लेखक आर सुरेन्द्रले आफ्नो लेखन अनुभूति सुनाए ।
