• २०८२ फाल्गुन १४, बिहीबार

आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’

काठमाडौँ ।

नेपाली गीतसंगीतको क्षेत्रमा चार दशकदेखि अनवरत साधना र विशिष्ट योगदान पु¥याउँदै आएका वरिष्ठ गायक आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ अर्पिएको छ । सूचक प्रकाशनको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात प्रेक्षालयमा शनिवार आयोजित समारोहमा कार्कीलाई उक्त पुरस्कार अर्पिएको हो । साहित्यकार सपना लामिछानेको कवितासंग्रह ‘जिन्दगी एक यात्रा’ को परिचर्चा कार्यक्रमको अवसर पारेर कार्कीलाई खादा, माला, प्रमाणपत्र र नगद राशिसहित पुरस्कार अर्पिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, विशिष्ट अतिथिहरू र कृतिकारले संयुक्त रूपमा उनलाई सम्मान अर्पिएका थिए । सम्मानित गायक कार्कीले पुरस्कारको ओज राशिमा नभई त्यसले दिने जिम्मेवारीमा हुने बताए। हङकङको सांगीतिक कार्यक्रम छोट्याएर पुरस्कार थाप्न नेपाल आइपुगेका कार्कीले भने, ‘यस्ता सम्मानले विगत ३÷४ दशकदेखिको मेरो सांगीतिक कर्मलाई अझ बढी जिम्मेवार बनाएको महसुस गरेको छु ।’ कार्यक्रमका प्रमुख अतिथि कुलपति भूपाल राईले सूचक प्रकाशनले सुरु गरेको यो सम्मान अभियान औपचारिकता मात्र नभई स्रष्टाको अनुशासन, साधना र युगीन दायित्वको मानक भएको बताए । उनले धम्मवती गुरुमाँ र स्वामी आनन्द अरुण जस्ता व्यक्तित्वलाई सम्मान गर्ने संस्थाले गायक आनन्द कार्कीलाई छनोट गर्नु ‘योग्य संस्थाको सुयोग्य पात्र चयन‘ भएको टिप्पणी गरे ।

‘जिन्दगी एक यात्रा’ को सुगन्ध प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सपना लामिछानेको ‘जिन्दगी एक यात्रा’ मा देशभक्ति, मातृत्व प्रेम र सामाजिक यथार्थको सुन्दर संयोजन रहेको बताए । उनले भाषा, कला, साहित्य र जीवन भोगाइका जागरुकताका खातिर ‘जिन्दगी एक यात्रा’ प्रेरक रहेको बताए । कवितासंग्रह पढिसक्दा देशभक्ति, मातृत्व प्रेम,कारुणिकता र सामाजिक विषयवस्तुका शाब्दिक सामथ्र्यले सुवासित हुने उल्लेख गर्दै समकालीन जीवनदर्शनको मार्मिक अभिव्यक्ति भएको बताए । कार्यक्रममा कविहरू अप्सरा केसी, रुवि सत्याल, गङ्गा खतिवडा र कमला घिमिरे अधिकारीले सङ्ग्रहका कविता वाचेका थिए ।

प्रमुख अतिथिले पानसमा दीप प्रज्वलित गरी राष्ट्रिय गान बजाएर सुरुवात गरिएको कार्यक्रममा स्वर्गीय क्यप्टेन रतनबहादुर लामिछानेप्रति मौनधारण पनि गरिएको थियो । स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नवीन पल्लवले गरेका थिए । स्व. लामिछानेकी सुपुत्रीद्वय रचयिता र रीति लामिछानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमबारे प्रतिक्रिया दिंदै सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ ले कला, साहित्य र स्रष्टाको सम्मान गर्ने अभियानमा साथ दिने सबैप्रति आभार प्रकट गरेका थिए ।

अभिनन्दनका साथै सुप्रसिद्ध वरिष्ठ गायक आनन्द कार्कीलाई गरिएका सम्मानबाट योग्य संस्थाको सुयोग्य पात्रको चयनका रूपमा बुझ्न सकिने विचार व्यक्त गरे । सामाजिक उत्तरदायित्व प्रतिको गहन जिम्मेवारी निर्वाह गर्ने प्रकाशनका अध्यक्ष दीपक भेटुवाल दीपसागरको प्रशंसा गर्दै यस्ता कार्यले सम्मान लिने र दिने दुवैको ओज बढाएको बताए । यसैगरी नेपाल कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले साहित्यले समाजलाई अगाडि बढाउने बताउँदै सिर्जना गर्ने हरेक व्यक्तिले समाजलाई डो¥याउने उल्लेख गरे । उनले आर्थिक विश्लेषणका फरक धारमा अभिव्यक्त गरिने आफ्ना विगतका नियमित धारणाहरुको कर्मभन्दा आजको यस विशिष्ट साहित्यिक कार्यक्रममा सहभागिता जनाउन पाएकोमा असीम आनन्द मिलेको समेत बताउँदै लामिछानेलाई कृति सफलताका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटाले गायक आनन्द कार्की विशिष्ठ क्षमताले धनी रहेका लामो समयदेखि गीतसंगीतको माध्यमबाट देशविदेशमा परिचर्चा र प्रसिद्धि कमाएका योग्य पात्रको चयन गरेकामा सूचकको प्रशंसा गरे । कृतिकार लामिछानेको कृति सफलताका लागि शुभकामना व्यक्त गर्दै खारिएका माझिएका र उत्कृष्ट कृतिहरूको सिर्जनाका लागि शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा बौद्ध अध्येता एवं सम्यक् सन्देशका सल्लाहकार श्यामलाल चित्रकार बाह्रखरी अनलाइनका पत्रकार राजेश खनाल, सारा खवरका डिबि पराजुली, प्रसिद्ध नियात्राकार राजेन्द्रमान डङ्गोल, साहित्यकार इल्या भट्टराई, वीणा पौड्याल, अमर कीर्तिमानी उपन्यासकार रुबि सत्याल लगायतको उपस्थिति थियो ।