• २०८२ फाल्गुन ७, बिहीबार

९१ वर्षीय कवि द्वारिका श्रेष्ठको सामूहिक अभिनन्दन

काठमाडौं ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा साहित्यिक पत्रकारितामा योगदान गर्दै आएका ५१ संस्थाको साझा मञ्च साहित्यिक संस्था समन्वय समितिले ९१ वर्षीय कवि द्वारिका श्रेष्ठको सामूहिक अभिनन्दन गरेको छ । नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित समारोहमा श्रेष्ठलाई कदबराबरको अभिनन्दनपत्र समर्पण गरिएको थियो । समितिका अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेष्ठलाई दोसल्ला, दूबो, फूल तथा रुद्राक्षको माला, टोपी, टीका, सगुन र फूलवर्षासहित अभिनन्दन गरिएको थियो ।

समारोहमा प्रदान गरिएको अभिनन्दनपत्र समितिका सचिव तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विशेष मन्तव्यसहित वाचन गर्नुभएको थियो । अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्दै श्रेष्ठले साहित्य सिर्जना, प्रजातान्त्रिक आन्दोलन तथा देशको विषम परिस्थितिमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । अभिनन्दित कवि श्रेष्ठकी धर्मपत्नी तथा ‘गुन्जन’ नारी साहित्य संस्थाका अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा समालोचक प्रमोद प्रधानले श्रेष्ठको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्नुभयो । उहाँले वि.सं. २०१० को पूर्वाद्र्धदेखि कविता सिर्जनामा संलग्न भई सात दशक लामो यात्रामा श्रेष्ठले नेपाली कवितामा विशिष्ट पहिचान निर्माण गर्नुका साथै महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

सो अवसरमा कवि श्रेष्ठले मन्तव्यसहित कविता वाचन गर्नुभएको थियो । उहाँले साहित्यकारलाई स्थान दिएर अघि बढाउने साहित्यिक पत्रकारिताको संरक्षण हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै साहित्यको विकास र विस्तारमा राजनीतिक नेतृत्व र दलहरू उदासीन रहेको धारणा राख्नुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्दै समितिका सदस्य तथा नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष श्री मोमिलाले कवि श्रेष्ठले नेपाली कविताको प्रयोगवादी धारामा पु¥याएको योगदान अविस्मरणीय रहेको बताउनुभयो । कार्यक्रममा कवि गीता कार्कीले श्रेष्ठको कविता वाचन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि, साहित्यकार, पत्रकार तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।