समाचार
काठमाडौं ।
वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२“, साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार–२०८२“ र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८२“ प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि रू. २५,०००।– (पच्चीस हजार) र स्रष्टा पुरस्कार रू. २१,०००।– रहेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । उक्त पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ९० औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते समर्पण गरिने परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीले बताए ।
विगत चार दशकदेखि सक्रिय साहित्यकार चौधरीको कविता, उपन्यास र निबन्धसहित डेढ दर्जन बढी साहित्यिक पुस्तकहरु प्रकाशित छन्। चौधरीको राष्ट्रियता नदुखोस् र संवाद (निबन्धसङ्ग्रह), मेरा डायरीका पानाहरू, मेघा र मेरा कविताहरू र तिमीविनाको म (कविता सङ्ग्रह), जीवन–मन्त्र (जीवन अनुभूति–भाग १), वसन्त (नौ भाषामा कविता सङ्ग्रह), आँसुओं की सियाही से, अनेक पल और मैं, वक्त रुकता नही र चाहतों के साये में (हिन्दी कविता सङ्ग्रह), आहना (नेपाली÷अंग्रेजी बालकविता सङ्ग्रह), जीवन –मन्त्र–२ (जीवन अनुभूति भाग २), म्यानेजमेन्ट ३६० डिग्री (अंग्रेजी निबन्ध सङ्ग्रह) र मेरा गीत (नेपाली÷हिन्दी गीत सङ्ग्रह), बसन्त चौधरी का काव्य जीवन का बहुरंगी कोलाज र देवयानी (उपन्यास)लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।
विगत चार दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील साहित्यकार भट्टराईको जीवनी, अनुसन्धान, सम्पादन गरी डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन्। भट्टराईका व्यक्तित्व र शब्दचित्र, साहित्यकार परिचय र अभिव्यक्ति, सन्दर्भ र खोजी, छाडेर जानेहरु, सय वर्षको कविता, गोपको इतिहास, ’नमन’ र स्मृतिमा छाडेर जानेहरू व्यक्तिपरक निबन्ध सङ्ग्रहलगायतका कृतिहरु प्रकाशित रहेका छन् भने भट्टराईले मधुपर्क र आरब्धको सम्पादनसमेत गर्नु भएको छ ।
यसैगरी विगत चार दशकदेखि सक्रिय साहित्यकार मञ्जुश्रीको कथा, कविता, उपन्यास, निबन्ध, जीवनी, अनुसन्धान, सम्पादनसहित तीन दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन्। मञ्जुश्रीका अनाहक उदगारहरु (मुक्तकृति), रहरहरुको लहर (कविताकृति), फेरिएको पर्खाल, हरिमञ्जुश्रीका कथा, नानीबाबु र हामी केही बोल्न सकेनौँ (कथाकृति), चालीसौं शताब्दी र माधुरी आचार्य (उपन्यास), आजको नेपाल कता लागिरहेछ ?, मेरा अनुभूतिहरुमा चौबाटोको चारैतिर, अमत्र्य भोजपुरेः हिरण्य भोजपुरे, शशि भण्डारी –आयाम र आलोक (निबन्धकृति)लगायतका कृतिहरु प्रकाशित रहेका छन् भने एकसय बढी कृतिहरु सम्पादनसमेत गर्नु भएको छ ।
वासु शशी साहित्य पुरस्कारबाट यसअगि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभू घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई, राधेश्याम लेकाली, मोमिला, श्यामल, प्रतिसरा सायमि र विमल वैद्य पुरस्कृत भइसकेका छन् ।
यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे, किरण खरेल र मनबहादुर मुखिया सम्मानित भइसकेका छन् ।
