समाचार
वीरगञ्ज ।
वीरगञ्जमा साहित्य, संस्कृति र वैचारिक मन्थनमार्फत साहित्यिक गतिविधिलाई पुनर्जीवित गर्ने उद्देश्यसहित दोस्रो संस्करणको मधेस साहित्य महोत्सव सम्पन्न भएको छ। उत्कर्ष नेपालको आयोजनामा मधेस विश्वविद्यालय परिसरमा सम्पन्न तीनदिने महोत्सव भोजपुरी चर्चित गायिका कल्पना पट्वारीको सांगीतिक प्रस्तुतिसँगै समापन गरिएको हो । समापन समारोहमा मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले वीरगञ्ज व्यवसायिक तथा औद्योगिक नगरी मात्र नभई विमर्श र चिन्तनको भूमि पनि भएको उल्लेख गर्नुभयो । उहाँले साहित्यिक संवादले नयाँ पुस्तामा सोच निर्माण गर्ने आधार तयार पार्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँका अनुसार भोजपुरी र मिथिला संस्कृति एकअर्कासँग गहिरो रूपमा जोडिएका सांस्कृतिक धार हुन् । महोत्सवमा गाउँको माटो, पहिचान, कृषि प्रणाली, रैथाने ज्ञान, लोकतन्त्र, युवा पलायन, विकास र पानी संकटलगायत विषयमा विविध सत्र सञ्चालन गरिएका थिए। उद्घाटन समारोहमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भाषा, संस्कृति र पहिचान जोगाउन गाउँ अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । ‘गाउँ– स्मृति, मिथक र यथार्थ’ शीर्षक सत्रमा भास्कर गौतमले गाउँको इतिहास, कृषि प्रणाली र रैथाने बिउको महत्वबारे बीजपत्र प्रस्तुत गर्नुभएको थियो । ‘गाउँ– लोकतन्त्र र सत्ता’ विषयमा सुरेश ढकाल, सुचेता प्याकुरेल र सबिन निङ्ग्लेखुले धारणा राख्नुभएको थियो ।
दोस्रो दिन पानी संकट मुख्य बहसको विषय बनेको थियो । दलित अधिकारकर्मी निला रामले पानी संकटले सीमान्तकृत समुदायमा बढी प्रभाव पारेको बताउनुभयो । कमला बचाउ अभियानका संयोजक विक्रम यादवले अनियन्त्रित पानी दोहन संकटको मुख्य कारण भएको बताउनुभयो भने जलाधारविद् मधुकर उपाध्यायले नीतिगत कमजोरीका कारण समस्या गम्भीर बन्दै गएको धारणा राख्नुभयो । महोत्सवका अवसरमा बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा लोपोन्मुख नेटुवा नाच प्रस्तुत गरिएको थियो। साथै बाँस सामग्री बुन्ने अर्जुन राउत, मिथिला चित्रकार ऋचा कर्ण र ढकिया–पथिया बुन्ने रामप्रिती चौधरीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
महोत्सवका सन्दर्भमा विश्लेषक तथा पत्रकार चन्द्रकिशोरले साहित्य, संस्कृति र विचारको मन्थनमार्फत मधेसका मुद्दा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले वीरगञ्जलाई पुनः साहित्यिक विमर्शको केन्द्रका रूपमा स्थापित गरेको बताउनुभयो । महोत्सवका सन्दर्भमा विश्लेषक तथा पत्रकार चन्द्रकिशोरले साहित्य, संस्कृति र विचारको मन्थनमार्फत मधेसका मुद्दा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले वीरगञ्जलाई पुनः साहित्यिक विमर्शको केन्द्रका रूपमा स्थापित गरेको बताउनुभयो ।
