हिन्दी कविता
काठमाडौं ।
पत्रकार तथा साहित्यकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’माथि परिचर्चा सम्पन्न भएको छ । चितवनमा शुक्रबार विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको परिचर्चा कार्यक्रममा वक्ताहरूले ‘बखान’ उपन्यास चितवनको इतिहासको साक्षीका रूपमा खडा भएको बताए ।
नेपाली लेखक संघ चितवनद्वारा आयोजित ‘पाठकसँग लेखक’ कार्यक्रमअन्तरगत आफ्ना धारणा राख्दै वक्ताहरूले यस उपन्यासले चितवनको पुरानो समाज, बस्ती विकास र सामाजिक रूपान्तरणलाई सशक्त रूपमा प्रस्तुत गरेको बताए । स्मल हेभन स्कुलका विद्यार्थी असिम सिलवालले कृतिमाथि समीक्षा गर्दै सहकारी अभियन्ता एवं समाज सुधारक बखानसिंह गुरुङको जीवनीमार्फत चितवनको इतिहासलाई जीवन्त रूपमा प्रस्तुत गरिएको उल्लेख गरे । अर्का विद्यार्थी विनिशा दवाडीले ‘बखान’ केवल बखानसिंह गुरुङको जीवनी मात्र नभई चितवनको बस्ती विकासको रूपरेखा प्रस्तुत गर्ने महत्वपूर्ण दस्तावेज पनि भएको बताइन् ।
साहित्यकार सुरेन्द्र अस्तफलले उपन्यासले चितवनको बस्ती विकासदेखि सहकारी आन्दोलनसम्मको यात्रा समेटेको चर्चा गरे । उनका अनुसार कृतिमा वि.सं. २००७ सालदेखि वि.सं. २०४० सालसम्मका आन्दोलन र उपलब्धिहरू समेटिएका छन् । कार्यक्रममा उपन्यासकार पराजुली, पत्रकार सरिता पौडेल, स्मल हेभन स्कुलका प्रधानाध्यापक विमल क्षेत्री, लेखक संघकी अध्यक्ष शान्ति शर्माले चितवन र सहकारीको पृष्ठभूमिमाथि उभिएर लेखिएको उपन्यासबारेमा आफ्नो धारणा राखे ।
