• २०८२ फाल्गुन १, शुक्रबार

परिस्थीती

शान्ति पाठक

शान्ति पाठक

उँचो शीर नेपालको तलतल, झर्दै गएको हुँदा
आँशुको दह बन्न गो अविरल, धर्केर आमा रुँदा
चोटहरू अनगिन्ती छाति विचका, निरीह भै रैँदिदा
स्तब्ध भयो राष्ट्र आज जननी, भाव विह्‌वल भैदिँदा

श्रृजना हुन गो विषम परिस्थिति, अस्तित्व गुम्दै गयो
परनिर्भरता बढ्यो गरिबीले, शिखर चुम्दै गयो
जन्मेको भूमि रित्तियो दिनदीनै, परदेशीँदा सन्तति
युवाका बहुमूल्य खुन पसिना, विदेशीका सम्पत्ति

मरूभूमिमहाँ परिणत भयो, उर्वरभूमी बाँझियो
शून्य कृषि उपार्जन भईदियो, आयातित गाँजियो
बाल वृद्धहरू सहारा बिहिन, अतालिँदा रातमा
भत्केका घर बन्यजन्तु सहजै, आइदिने साथमा

खोच कन्दरा जो बेवारिसे बने, सुके मूल पानीका
प्रतिक्षारत छन् ति सुन्दर छटा, प्राकृ‌तिक खानिका
पुर्खाका धरोहर धराशायी बने, सुसंस्कृति मैलियो
भित्रिँदा परसंस्कृति र विकृति, विसंगती फैलियो

घाइते जननी लडिन समिपमा, ढुकढुकीको सासले
गुहारी रहिछन छट्पटिसँगै, बचाउने त्यो आसले
हातजोडी शरण परिछन् जननी, सन्तानको पाउमा
दियो बाली पुकार्दछिन हरघडी, बर्चस्व जोगाउन

चोटहरू अनगिन्ती छाति बिचका, निरिह भै सहिदिंदा
स्तब्ध भयो राष्ट्र आज जननी, भाव विह्वल भैदिँदा
भाग बण्डामा नै सिमीत रहेर, सन्तानहरू अल्झँदा
खाटा बस्न नपाउँदै जननीका, घाउ पुनस् बल्झिँदा

स्वर्गकी प्रतिबिम्ब हुन यी जननी, विश्वमा पाउछौँ कहाँ ?
महत्वहिन भैदिने अति ठूलो, विडम्वना भो यहाँ
उत्तरदायित्व बोध आमा प्रतिको, हुनु जरुरी यहाँ
अस्थित्व विहिन भएमा जननी, वात्सलय पाउँछौ कहाँ ?

कहाँ भूल भयो कसोगरी चुक्यौँ, आफैसंग सोध्नुछ
अन्धकारमा रुमलियौ निकास‌को, बाटो आफै खोज्नु छ
शरणार्थी हुनेछौँ निश्चीत यहाँ, यस्तै अवस्था रहे
रहुँला जिवित कसोगरीकन, पहिचान् विहिन भए

संयमता अपनाउनु उचित‌ हो, शंकटको कालमा
दम्भमै अडिक रह्यौ यदि भने, पुगिन्छ बेहालामा
छोडौँ होड र बाजी एक आपसको, विपत्तिको छ घडी
हातेमालो गरिकन अघिबढौँ, आत्मै समिक्षा गरी

त्यागी द्वेश र वैरभाव आपसका, निस्वार्थी भै उठ्‌नुछ
आत्म राखेर साक्षी सज्जनहरू, सत्कर्ममा जुट्नु छ
नराखीकन आत्ममा रतिभर, भावना संकुचित
बुज्रुकहरू बिच सदैव एकता, कायम हुनु उचित


बुटवल , रूपन्देही