काठमाडौँको एउटा हिउँदको एक साँझ । सिङ्गो वातावरण दिनानुदिन शिखरोन्मुख चिसोले कठ्याङ्ग्रिदै छ । अझैसम्म तापक्रम शून्य डिग्रीमा ओर्लिसकेको त छैन तर चिसोको प्रत्याक्रमणले सहरको अङ्ग–अङ्गलाई बिस्तारै लपेट्दै लगिरहेको छ ।
‘के लिऊँ हजुर ? ह्विस्की, वाइन…।’ अधबैँसे उमेरकी दिव्या अतिथि–सत्कारमा निमग्न देखिन्छन् । उनले अतिथिहरूलाई ह्विस्की, वाइनको प्रस्ताव राखे पनि उनी भने चियो पेय पदार्थ समातेर यताउति टहलिइरहेकी थिइन् ।
‘हजुरले केही लिनुभएको छैन त । यस्तो चिसोमा केही पिउनुभएको भए हुन्थ्यो नि !’ उनको हातमा नरम पेय पदार्थ देखेपछि एक जना अतिथिले आग्रहको स्वर बिसाए ।
‘आज त मैले पाहुनाहरूलाई खुवाउने हो । आफैँले खाएर मात्तिदा त बेइज्जत नै हुन्छ ।’ कालो चस्मा नेत्र–विन्दुबाट कपालतिर सार्दै दिव्याले भनिन्– ‘तीन सयजति पाहुनालाई सत्कार गर्नुछ । लिऊँ हजुर, लिऊँ । चिकेन टिक्का लिऊँ । तात्तातै मीठो हुन्छ ।’
‘अँ, हुन्छ । धन्यवाद !’ एकजना अतिथिले चिकेन टिक्काको स्वाद स्वीकार्दै भने ।
‘यो माछा पनि लिऊँ । मैले यो भोजको निम्ति भनेर स्पेशल रूपमा मगाएकी हुँ ।’ दिव्याले अर्का अतिथितिर फर्किंदै भनिन् ।
‘म त भेजेटेरियन परेँ ।’ ती अतिथिले भने ।
‘ए भाइ, उहाँलाई पनिरको कुनै आइटम…।’
नक्सालको एउटा पार्टी–प्यालेस । भव्य र सानदार । पार्टी–प्यालेसको चारै कुनामा रङ्गिबिरङ्गी गुलुपहरू बलिरहेका छन् । एउटा कुनामा भने कृत्रिम झरनाले शक्तिशाली आवाज निकाल्दै आफ्नो सान देखाइरहेको छ र त्यसको आवाज बाहिरको परिवेशमा गुञ्जिरहेको छ । भित्रको ठूलो हलमा भने अतिथिहरू खानपिन–सानपिन, संवाद–परिसंवादमा मग्न छन् ।
०००
धेरै खुसी छिन् दिव्या । खुसी नहुनु पनि किन ? उनको एक मात्र सुपुत्र प्रशान्तले घरमा नयाँ दुलही भित्र्याएका छन् । अस्ट्रेलियामा बस्छन्, छोरा । पेसाले चिकित्सक हुन्, उनी । नव–दुलही पनि अस्ट्रेलियातिरै बस्छिन् । उनी पनि चिकित्सक । एउटा छोरा र छोरी त हुन् नि उनको । छोरी–ज्वाइँ पनि विदेशतिरै बस्छन्– क्यानडामा । एउटी नातिनी पनि छे । प्रशान्तको विवाहमा दिव्याकी छोरी सुचित्रा, ज्वाइँ र नातिनी पनि आएका छन्, नेपालमा । अतः यो रमाइलो जमघटमा शरीरभरि महँगा गरगहनाहरूमा छाँटिएर, रातो सारी र चोलीमा सजिएर उनी अतिथिहरूलाई सत्कार गर्न व्यस्त देखिन्छन् ।
‘मलाई त भान्जाबाबुले यसरी बिहेभोज ख्वाउनु होलाजस्तो लागेको थिएन ।’ हातमा आधा गिलास ह्विस्की लिएर उभिएका एकजना अधबैँसेले भने । ह्विस्की ग्रहणको प्रारम्भिक चरणमै भएर होला, उनको जिब्रोमा कुनै बेसुराको सङकेत पाइँदैनथ्यो ।
‘हो नि ! मलाई पनि नेपालमै आएर बिहे गर्लाजस्तो लागेको थिएन । दुवै उतै जागिरे । उतै बिहे गर्लान्जस्तो लागेको थियो । तर, यतै आएर गरे । खुसी लाग्यो ।’ दिव्याले आफूभित्र नैसर्गिक खुसी भित्र्याउँदै भनिन्– ‘अचेलका केटाकेटीले आफ्नो देश, आफ्नो माटो सम्झिनु पनि अचम्मकै कुरा हो ।’
‘हो नि, अचेलका केटाकेटीहरू विदेश गएपछि उतै बिहे गर्छन् । उतै हराउँछन् । देशलाई त वास्तै गर्दैनन् ।’ आधा गिलास ह्विस्की क्षणभरमै रित्याउँदै ती अधबैँसले भने– ‘ए, भाइ, एक पेग लगाऊ त ! सोडा हैन, विशुद्ध पानी है । सोडाले त ह्विस्कीको ओर्जिनल स्वाद नै बिगार्छ, भन्या ।’
‘हजुर लिँदै गर्नुस्, म अरू पाहुनाहरूलाई के पुग्यो, के पुगेन, हेर्छु ।’ दिव्या एउटा कुनातिर लागिन् । तीन–चारजना अधबैँसे पुरुष÷महिला भद्र तरिकाले खानपानमा व्यस्त थिए । उनीहरूलाई देखेपछि दिव्याले सोधिन्– ‘हजुरहरूले राम्ररी नै लिइरहनुभएको छ नि । के चाहिन्छ भन्नुस् है !’
‘हामीले इन्जोय गरिरहेका छौँ हजुर । कुनै चिन्ता मानिबक्सनु पर्दैन ।’ एकजनाले भने र सोधे– ‘बरु हजुरले…?’
‘मैले त आज पाहुनाहरूलाई ख्वाउने हो, हेरविचार गर्ने हो ।’ दिव्याले कालो चस्माले आँखा छोप्दै भनिन् ।
पूर्वतिरको कुनामा थियो, एउटा सानो हल । तर अर्ध–अँध्यारो । अनेक रङका बत्तीहरूले त्यो हल कहिले उज्यालिन्थ्यो, कहिले अर्ध–अँध्यारोले ढाकिन्थ्यो । झल्याकझुलुक बत्तीसँगै अङ्ग्रेजी गीतहरू घन्किरहेका थिए । युवक–युवतीहरू हातमा बियर, वाइन लिएर नाच्नमा व्यस्त देखिन्थे ।
०००
‘मलाई त असैह्य भइसक्यो ।’ सुचित्राले मुरमुरिँदै भनिन् । एउटा टेबुलमा सुचित्रा र उनका पतिदेव बसिरहेका थिए ।
‘चुप लाग आज । केही पनि नबोल । जे हुन्छ, सहेर बस !’ सुचित्राका पतिदेव उनलाई सम्झाउने कोसिसमा देखिन्थे ।
‘यो पार्टीमा आउने मान्छेहरू के पाखे छन् र ? सबै शिक्षित, गण्यमान्य, भद्रभलाद्मीहरू नै छन् ।’ सुचित्राको स्वरमा अन्तरनिहित रिसको स्तर ओर्लिसकेको थिएन, अझै । उनी भन्दै थिइन्– ‘वेटरहरूले सबैकहाँ स्न्याक्स, ड्रिङ्सहरू सर्भ गरिरहेका छन् । हाम्रो ममीलाई चाहिँ किन सबैकहाँ पुगेर के लिऊँ, के पुगेन भनेर चेपारे घस्नुपरेको होला ? चुप लागेर एक ठाउँमा बसे भै’हाल्यो नि !’
‘तिम्रो ममीको बानी नै त्यस्तै छ, के गर्छौ ? चुप लाग ! आज ममीलाई केही भन्ने होइन ।’ सुचित्राका पतिदेव उनलाई सम्झाउँदै थिए, अझै ।
‘त्यत्रो डक्टरजस्तो मान्छे…।’ सुचित्राले भनिन् ।
‘मानिसले जुन पेसा अपनाए पनि आफ्नो बानी छाड्न मुस्किल नै पर्छ, सुची ।’ पतिदेवचाहिँ सम्झाइबुझाइ गर्नमा नै व्यस्त देखिन्थे– ‘रिस नगर ममीलाई । उहाँलाई जे गर्न मन लाग्छ, गर्न देऊ ! आखिर, उहाँकै छोराको बिहेभोज हो क्यारे ।’
दिव्याले अतिथिहरूलाई आतिथ्य सत्कार, सोधपुछ र निगरानी गरिरहेको सुचित्रालाई पटक्कै मन परिरहेको थिएन । आमाको बानी देखेर सुचित्रा सुरुदेखि नै आजित देखिएकी थिइन् र कुनै प्रतिक्रिया जनाउन नसके पनि आफूभित्र रिसको ज्वाला उमारेर भित्रभित्रै सल्किरहेकी थिइन् ।
‘ममी ।’ एकजना अतिथिसँग गफमा व्यस्त दिव्यातिर हेर्दै सुचित्राले भनिन् ।
दिव्याले सुचित्रातिर हेरिन्, पुलुक्क । र, पुनः अतिथिसँगको अन्तरक्रियामा नै सहभागिता जनाइन् । सुचित्राले उनलाई कोट्याउँदै भनिन्– ‘तपाईं पनि बुवा, भाइ–बुहारीसँगै माथि मञ्चमै गएर बस्नूस् न !’
सुचित्राको अनुहारभरि रिसका मसिना कणहरू सल्बलाइरहेका थिए । तर, त्यसलाई सतहमा खसाल्नबाट भने उनले रोकिरहेका थिए, जबरजस्ती । दिव्याबाट कुनै प्रतिक्रिया नआएपछि उनले पुनः अनुरोध गर्दै भनिन्– ‘मञ्चमै गएर बस्नूस् न भन्या !’
‘हजुरलाई केही थपौँ ? ह्विस्की ? पोलेको आलु खानु हुन्छ कि ? कत्ति मीठो र स्वादिलो छ ।’ दिव्या भने अतिथिहरूलाई सत्कार र सोधपुछमा व्यस्त थिइन् । उनी भन्दै थिइन्– ‘ए, हजुरलाई आलु खान हुन्न रे ? सुगर भयो रे । अचेल यो सुगरले कसैलाई पनि नछाड्ने भो भन्या । मैले पनि औषधि चलाइरहेकी छु । डेढ वर्ष भै’सक्यो । पहिला–पहिला ग्यास्ट्रिकलाई राष्ट्रिय रोग भनिन्थ्यो, अहिले राष्ट्रिय रोगको स्थान सुगरले लिइसक्यो, भन्या । जसलाई पनि भेट्या छ ।’
‘ममी ।’ सुचित्राले आवाज घनीभूत पार्दै भनिन् ।
ठूलो र कर्कश स्वर विस्फोट भएपछि दिव्याले छोरीतिर हेरिन् र सोधिन्– ‘के भो ? किन चिच्याएको ? सानो स्वरमा बोल्न सक्दिन थि’स् ? कराउनुपर्छ ?’
‘बोलाकी त हुँ नि । सुन्नै चाहनुभएन ।’ सुचित्राले आँखा पल्टाउँदै भनिन् ।
‘किन ? के भो ? किन बोलाकी ?’ रोवदार आवाजमा दिव्याले सोधिन् ।
‘तपाईं एक ठाउँमा गएर बस्नूस् न !’ सुचित्राले उनको कमजोरीको फेर समातेर भनिन्– ‘तपाईं बेहुलाको आमा हो कि वेटर ? कसलाई के पुगेन, के मगाइदिऊँ, के थपिदिऊँँ, भन्नुपर्छ तपाईंले । यस पार्टीमा आउने सबै पढेलेखेका र भलाद्मी नै छन् । उनीहरूलाई वेटरले सर्भ गरिरहेका छँदैछन् नि । यस्तो पार्टीमा…।’
‘ए, मैले पाहुनाहरूलाई सत्कार गरेको तँलाई मन परेन, हैन ?’ दिव्याले चस्मा निकाल्दै भनिन् र छोरीको रिसालु नजरतिर आफ्नो नजर लगेर जुधाइन् ।
‘मैले त्यसो भन्न खोजेकी हैन, ममी ।’
‘के भन्न खोजेकी होस् त ?’
‘तपाईं वेटर नबन्नूस्, आफ्नो स्ट्यान्डर्समा रहनूस् भनेकी हुँ ।’ सुचित्राले कटाक्ष तेस्र्याउँदै भनिन्– ‘तपाईंलाई वेटर बनेको सुहाउँदैन, ममी ।’
‘ए, आफूले बोला’का पाहुनाहरूलाई सत्कार गर्दा म वेटर भएँ ? ल, पाहुनाहरूलाई सत्कार गर्दा वेटर भइन्छ भने भएँ त ।’ दिव्याभित्र एक्कासि रिसको सतह अकासियो र रिस र आवेगले गर्दा उनको अनुहार चुकन्दरझैँ रातो–रातो देखिन पुग्यो । उनको अनुहारमा भित्रिएको रातोपन अझ गाढा र समृद्ध बन्दै गइरहेको थियो– ‘तिमीहरू मोर्डन । मोर्डनसामु हामीजस्ताको के लाग्छ र ? म त पाखे भइहालेँ नि । पाखे, वेटर ।’
‘मैले तपाईंलाई हियाउन खोजेकी हैन, ममी ।’ सुचित्रा पूरै गल्न पुगिन् । तीव्र उचाइ लिइरहेको जहाज एक्कासि धर्तीसम्मुख ओर्लिएझैँ सुचित्राले पनि आफूभित्र पलाइरहेको रिसलाई तल झार्दै भनिन् । उनका आँखा भयले विस्फारित हुँदै गइरहेको थियो ।
असामान्य दृश्य–विम्ब तैरियो, एकाएक । दिव्याको अनुहारले उत्तेजित–भाव सञ्चारित गरिरहेको थियो । आमा–छोरीबीचको वाक्द्वन्द्वले अझै क्षेत्राधिकार बिस्तार गर्ने सम्भावना ब्यूँतिदै थियो । हुन त, दिव्याका निम्ति रिस, क्रोध र आवेग वंशाणुगत देन नै थियो । उनले चिकित्सा–विज्ञान अध्ययन गरेकी भए पनि आफूभित्र वेलावेलामा ब्यूँझिने आवेग र क्रोधलाई कसरी न्युनीकरण गर्ने भन्ने कलाबाट उनी पूर्णतः विमुख थिइन् ।
सुचित्रा आमाको स्वभावसँग पूर्णतः परिचित भए पनि त्यस पार्टीमा जोखिम उठाएरै प्रतिवाद गरेकी थिइन् । तर, आमाको बदलिएको चेहरा देखेपछि सुचित्राले आफूभित्र अतिरिक्त नम्रता उमार्दै भनिन्– ‘चुप लाग्नूस्, ममी ! रिसलाई कन्ट्रोल गर्नूस् ! यसरी हाइपरटेन्सनमा नआउनूस् ! पाहुनाहरूले हेरिरा’छन् । के भन्लान् ?’
छोरीको सुझावसँगै दिव्याले आफूलाई सम्हाल्ने प्रयत्न गरिन र एकपटक सिङ्गो हलमा आँखा घुमाइन् । सबै आ–आफ्नै संसारमा मस्त र व्यस्त थिए । कोही हाँस्दै थिए, कोही गम्भीर वार्तालापमा व्यस्त । अरू समय भए दिव्या धेरै समय चिच्याउन सक्थिन् तर त्यो दिन भने उनको आवेग, क्रोध हठात् सेलाउन पुग्यो, आरनबाट निकालेपछि सेलाएको फलामझैँ । मौनताका पदचिह्न पछ्याउँदै केही क्षण उभिइरहिन्– निरुपाय मुद्रामा ।
‘हिँड्नूस् ममी !’ सुचित्राले दिव्याको हात समाउँदै भनिन् ।
‘तिमीहरूजस्ता मोर्डनसँग हाम्रो के कुरा मिल्छ र ?’ दिव्याको रिसको सतह अझै घटिसकेको थिएन । उनी छोरीलाई कटाक्ष गर्न अझै सक्रिय देखिन्थिन् ।
‘भो, विवाद नगरौँ ममी ! यो विवाद गर्ने ठाउँ होइन ।’ सुचित्राले आफ्नो आवाजमा उदासीको गन्ध मिसाउँदै भनिन्– ‘किन विवाद गर्ने ? अर्को हप्ता म क्यानडा उडिहाल्छु । दुई–चार दिन बस्दा पनि किन आमा र छोरीको अनुहार रातो बनाएर बस्ने ?’
सुचित्रामा अशेष कृतज्ञताको भाव झल्किरहेको थियो ।
छोरीको अभिव्यक्ति पोखिएसँगै दिव्याको अनुहारको भावभङ्गिमा पूरै बिथोलिन पुग्यो । उदासी काला बादलहरू आफ्ना शिरमाथि मडारिएझैँ लाग्यो, उनलाई । उनले सोचिन्– ‘अब त्यो कालो बादल मडारिने छ, बर्सिने छ र मेरो भावनाको मैदानलाई भिजाउने छ, निथ्रुक्कै ।’
आमन्त्रित सबै पाहुनाहरू त्यो पार्टी–प्यालेसभित्र रमाइरहेका थिए, हाँसिरहेका थिए, एकापसमा मुस्कान साटासाट गरिरहेका थिए, खाइरहेका थिए, पिइरहेका थिए, सङ्गीतको लयमा झुमिरहेका थिए ।
दिव्या भने उदासको वृत्तले घेरिएकी थिइन् । सुचित्रा पनि उनकै छेउमा उभिरहेकी थिइन्, निःशब्द÷निःसङ्कोच ।
त्यही समय दिव्याले भित्तामा टाँगिएको एउटा ठूलो आकारको पेन्टिङ्तिर नजर पु¥याइन् । हठात् । त्यो कुनै भव्य पेन्टिङ् थिएन, सामान्य पेन्टिङ् थियो । पेन्टिङ्मा एउटा समथर भेगको गोरेटोमा एउटी महिलाले सानी बच्चीलाई डो¥याउँदै हिँडिरहेको दृश्य अङ्कित थियो । त्यो गोधूलि समयले आफ्नो अपार छटा धर्तीको शालीन र समृद्ध काखहरूमा वितरण गर्ने वेलाको पेन्टिङ् थियो ।
दिव्याले त्यस पेन्टिङ्मा अन्तरनिहित कलात्मक बान्की र सौन्दर्यलाई गहनरूपले पर्गेल्दै सुचित्रालाई त्यो पेन्टिङ् देखाउने उत्सुकता भित्र्याइन्, आफूमा एकाएक । र, पेन्टिङ्तिर औँल्याउँदै उनले भनिन्– ‘ऊ त्यो पेन्टिङ् हेर त । कति राम्रो रहेछ । कसले बनाएको होला, यस्तो रियल पेन्टिङ् । मलाई त खुबै मन प¥यो ।’
सुचित्राले त्यो पेन्टिङ्तिर आँखा पु¥याइन् ।
बिहेपार्टी झनै भव्य हुँदैथियो । मध्यान्तर नाघिसकेको थियो । आमन्त्रितहरूका मादकतापूर्ण मुस्कान, होहल्ला र हाँसोले सर्वत्र स्थान पाउँदै थियो । कोही सघन वार्तालापमा, कोही मस्तीमा र कोही नृत्यादिमा । सबै व्यस्त देखिन्थे ।
‘हो, साँच्चै कति राम्रो पेन्टिङ् रहेछ ।’ सुचित्राले त्यो पेन्टिङ्तिर आँखा पु¥याउँदै र सहमति जनाउँदै भनिन् । उनको आँखामा कुनै आक्रोश र आवेगका ध्वजापताकाहरू टाँगिएका थिएनन, अहिले । सपाट र क्रोधविहीन थिइन् उनी ।
‘यो पेन्टिङ् हेरेपछि त मलाई आज धेरै वर्षपहिलाको कुरा याद आयो ।’ दिव्याले तनाव र विषमताले भरिएका तात्कालिक पूर्ववर्ती क्षणहरूलाई पूरै नकार्दै भन्न थालिन्– ‘तँ सानी छँदा मैले तँलाई विराटनगरको नहरको बाटोमा यसैगरी डो¥याउँदै हिँड्थेँ । तँलाई स्कुलबाट लिएर डो¥याउँदै–डो¥याउँदै घरतिर जाँदाखेरिको समयको जस्तै पेन्टिङ् रहेछ यो । समय पनि त्यस्तै हुन्थ्यो, घाम डुब्ने–डुब्ने बेला । नहर पश्चिमतिरको आँप, नरिवल र बडहरको रुखहरूमा छेलिँदै घाम डुब्दा कति असीम रमाइलो हुन्थ्यो ।’ दिव्या विगतका मनोरम तलाउमा डुब्न पुगिन्, अनायासै ।
सुचित्राका आँखा भने डबडबाउँदै गइरहेका थिए । दिव्या भने अझै त्यही पेन्टिङ्मा नै गहिरोरूपमा आँखा गाडन् व्यस्त थिइन् र स्मृतिचिह्नहरू पहिल्याउन निमग्न देखिन्थिन् ।
बिहेपार्टीको रौनकता झनै चम्किँदै गइरहेको थियो । पूरै हललाई थर्काउने गरी, अरूहरूका आवाजलाई सम्पूर्णतः निषेध गर्दै एउटा गीत घन्किरहेको थियो, ‘होंठ रसिले तेरे, होंठ रसिले…।’
दिव्या र सुचित्रा पनि गीत घन्किएसँगै नाच्न थालिन् ।
०
कामनपा–१६, खरिबोट, समर्पण बस्ती ।
…………………………………………..
(वस्ती प्रसिद्ध कथाकार हुन्)
[email protected]