लघु कथा
काठमाडौं ।
पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’माथि छलफल भएको छ । शनिबार पोखरामा ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा समालोचक डा. नेत्र एटमले कृतिमाथि चर्चा गर्दै आफ्ना धारणा राखे ।
समालोचक डा. एटमले कथाकार वियोगीले अनुभव र स्मृतिको संयोजन गरेर कृति सिर्जना गरेकाले उनका कथाहरू जीवन्त बनेको उल्लेख गरे । कथाकारले अवलोकन, अन्तरक्रिया र अभिलेखलाई सामग्री संकलनको पद्धति बनाउने गरेको बताउँदै एटमले ‘सत्यम्’का कथामा अवलोकनलाई अधिक महत्व दिइएको बताए ।
सामाजिक तथा सांस्कृतिक पक्ष समेटिनु पनि कथाहरूको बलियो पक्ष भएको उनको भनाइ छ । चर्चित साहित्यकार सरुभक्तले कथाकार वियोगीका कथाले जनमानसलाई छुन सक्ने सामथ्र्य राखेको बताए।
कथाकार वियोगीले आफूले जीवनका विभिन्न मोडमा देखेका र भोगेका विषयवस्तुलाई कथामा उतारेको अनुभव सुनाए । उनले ‘सत्यम्’भित्रका कथाहरू समय र सत्यका आवाज भए पनि कतिपयमाथि आफूले न्याय गर्न नसकेको स्वीकार गरे । १५ कथा समेटिएको यो उनको पहिलो कथाकृति हो ।
