• २०८१ बैशाख १३ बिहीबार

नेलहरू

हो ची मिन्ह

हो ची मिन्ह

(१)
एउटा विकराल राक्षस जस्तै
आफ्नो मुख आँ गरेर
हरेक रात नेलहरूले निल्ने गर्छ–मान्छेका खुट्टा
उसका दाराले हरेक कैदीको
दाहिने खुट्टा चपाउँछ
मात्र बाँया खुट्टा मोडिन र तन्किनका लागि
मुक्त रहन्छ ।

(२)
तै पनि एउटा गजबको कुरा छ
मान्छेहरू आफ्नो खुट्टा नेलमा हाल्नका लागि
निर्धक्क दौडिरहेछन् ।

एक फेर नेल लाएपछि
उनीहरू शान्तिले निदाउन सक्छन्
अन्यथा
आफ्नो शिर लुकाउने सम्मको ठाँउ पनि
पाउँदैनन् उनीहरू ।

अनुवाद: राजेन्द्र शलभ