• २०८२ माघ २७, मंगलवार

गौरी तमुको ‘सैँप्रोल’ कवितासङ्ग्रह लोकार्पण

काठमाडौँ ।

गौरी तमुको ‘सैँप्रोल’ कवितासंग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ राजन मुकारुङ, दीपक सापकोटा, डा. रजनी ढकाल र गौरी तमूलेको कृतिको लोकार्पण गरेका हुन् । लोकार्पणमा प्राज्ञ मुकारुङले सैँप्रोल गुरुङ भाषा र संस्कृति चियाउने आँखीझ्याल भएको बताए । उनले आदिवासी–जनतजाती सम्बन्धीको पहिचान साहित्य नै मूलधारको साहित्य भएको बताए । सैँप्रोलका कविताले जनजातिको आवाज सशक्त रूपमा उठाएको बताए ।

त्यस्तै दीपक सापकोटाले सैँप्रोल तमू मिथमा आउने महिला पात्रको नाम मात्र नभइ तमू महिलाको अस्तित्व, असन्तुष्टि र आक्रोशको बहस भएको बताए । त्यस्तै समालोचक डा. रजनी ढकालले गुरुङ–संस्कृति र पहिचानमाथि गम्भीर विमर्श गर्ने बताइन् । कविताका शैली र प्रवृत्ति गौरी तमूको जस्तै स्पष्ट र सटिक रहेको बताए ।

कवि गौरी तमूले पुस्तकले महिला अस्तित्वसँगै तमूहरूको उत्पत्ति, संस्कृति, मृत्यु संस्कार र तमूसँगै आदिवासी भूगोल–संस्कृतिमाथिको आक्रमणबारे विमर्श गर्ने आशा राखिएको बताइन् । कवि तमू लामो समयदेखि गुरुङ भाषा र साहित्यका क्षेत्रमा क्रियाशील छिन्। यसअघि उनको ‘समैँ दर्बानी’ मुक्तकसंग्रह प्रकाशित छ। तमूका ‘सैँप्रोल’ पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो । कृतिको मूल्य २७५ रुपैयाँ छ ।