समाचार
यदाकदा दैनिक घटनालाई टिपोट गर्ने बानी छ । टिपोट नियमित भने हुँदैन । सामान्य किसिमले बितेका दिन दैनिकी लेख्नु पनि झ्याउलो जस्तै हुँदोरहेछ । कोरोना भाइरसको प्रकोप र लामो लकडाउन : नेपालमा हाम्रो पुस्ताका लागि एक विशेष अनुभवका रूपमा रह्यो । संयोग कस्तो पर्यो भने, बोझेपोखरी, ललितपुरस्थित घरबाट ससुराल (मोरङ जिल्लाको बुढीगंगास्थित बाँसबारी) मा प्लेनमा हामी परिवारका चारैजना बेलुका पुगेका थियौं; हामी पुगेकै भोलिपल्ट नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि भारतका कतिपय प्रदेशमा लकडाउनको घोषणा भएको थियो । हामी कोरोना र लकडाउन दुवैलाई सामान्य परिघटनाका रूपमा बुझ्दै थियौं; ससुराल पुगेको भोलिपल्ट नै थाहा भयो : यी दुवै असामान्य अवस्था रहेछन् । घरबाहिर पसल बन्द, मानिसको आवागमन बन्द, मोटर/टेम्पो सबै बन्द । हुँदाहुँदा मास्क लगाउनु पर्ने भयो; लौ अब त मुख पनि बन्द !
म स्थिर भएर घरबाहिर धेरै समय रहन नसक्ने मान्छे । मर्निङवाकको लतमा फसेको मान्छे । हिड्दाहिड्दै कसैको नजिक पुगियो भने वन्यजन्तु देखे जस्तै गरी मान्छे तर्किने । कोही मान्छे सम्मुखमा आइपुग्यो भने आफैलाई पनि ननिको लाग्ने । बाहिर गएर कोही आएको छ भने उसलाई राम्रोसंग धोईपखाली गरेपछि मात्र घरभित्र प्रवेश हुने । मर्निङवाकमा ननिस्किन मलाई गाह्रो । निस्किदा घरका मान्छेलाई गाह्रो । हिड्दा जोगिएर हिड्थें । तर मर्निङवाकका रूपमा हिड्न पनि अब घरमै प्रतिबन्ध लाग्ला जस्तो भयो । ससुरालमा हुनुको फाइदा के भने– कसैले प्रकट रूपमा केही भनेको सुनिएन । मनमा जे भए पनि मुखले भन्थे– “ज्वाइँ/भिनाजुलाई सिकाउनु पर्छ ?”
त्यसमाथि हाम्रो त परिवारका चारैजना यतै । झन्डै एक महिनाको अवधि कौशुको घरसम्बन्धी चिन्ता र हुटहुटी सुन्दै बाँसबारी, सोनापुर र इटहरी ओहोरदोहोर गर्यौं- हामीले । अनि पछि अनेक बहाना बनाएर मनमाफिक भाडा बुझाएर हामी दुईजना घर आयौं; छोराहरू उतै रहे । कोरोनाको यस्तै सन्त्रासका बीच १ फेब्रुअरी, २०२२ को दिन मैले डायरीमा यस्तो घटना टिपोट गरेको रहेंछु-
कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टले कसलाई पो छोएन र ! परिवारको सीमित परिधिभित्रको कुरा गर्ने हो भने, पहिले भतिजो संक्रमित भयो; अनि सानु । घर (सूर्यविनायक ५, कटुन्जे, भक्तपुर)मा दुर्गालाई खोकी पहिलेदेखि थियो; अनि बा खोक्न थाल्नुभयो । उर्मिलालाई हनहनी ज्वरो आयो । आमालाई पनि आयो— ज्वरो । परीक्षणको रिपोर्टपछि थाहा भयो— सबैजना संक्रमित । उता ध्रुव पनि संक्रमित भएर तङ्ग्रिइसकेको रहेछ ।
यता इमाडोलमा हामी जो छौं; त्यतिञ्जेल कसैलाई कुनै लक्षण देखिएको थिएन । बाआमासमेतमा संक्रमणको प्रभाव केही कम भएपछि मलाई लाग्यो; ‘अब घर जानु पर्छ ।’ सोचें; ‘डब्बल माक्स लगाएर जान्छु, बाआमालाई परैबाट हेर्छु र फर्किन्छु ।’ त्यस्तै गरें । उलङ्घन भयो भने ‘बाआमालाई परैबाट हेर्छु’ भन्ने विषय उलङ्घन भयो होला; त्यति हो । बाआमा बरन्डामा घाममा हुनुहुँदोरहेछ; म गेटभित्र पसें र घरभित्र नपसीकन गाई बाँध्ने छाप्रो हुँदै बारीमा गएँ । बारीमै उभिएर बाआमासँग कुरा गरें र फर्किएँ ।
बेलुकाखेर घाँटी दुख्यो र हल्का ज्वरो आयो । घर र परिवारको सीमाभित्र म हल्का आइसोलेसनमा गएँ ।
बाफ रे ! राति त नाक थुनिएर सुत्नै सकिनँ । खोकें पनि । सँधै ओड्ने गरेकै सिरक आज पनि आडेको छु; तर आज जाडो भएको छ । बिहान साबिककै समयमा उठें; रिङ्गटा लागेको छ । बिहान उठेर शारीरिक अभ्यासका नाममा जे गर्थें; सकिएछ भने बिहान हुर्किएपछि गर्नु पर्ला भन्ने लाग्यो । अनि सुतें । सुतिरहें— सात बजेसम्म ।
कौशुले बाफ लिन सुझाइन । मैले ‘बेलुका लिउँला’ भनेर टारें ।
दिन सामान्य रूपमै बित्यो । खानपानमा पनि खासै परहेज गरिएन । बेलुका बाफ लिएँ; परिवारका अन्य सदस्यको अम्मल बनिसकेको ज्वाँनोपानी पनि खाएँ । पत्रपत्रिकामा ‘बजारमा सिटामोलको अभाव छ’ भन्ने व्यहोराका समाचार आइरहेका थिए; घरेलु उपचारले थेगेन भने मात्र एलोपैथिक औषधीका लागि अग्रसर हुन्छौं— हामी सबै ।
राति गाह्रो त भयो; तर हिजो जति होइन । राति नाक त थुनियो; तर हिजो जति होइन । राति खोकी त लाग्यो; तर हिजो जति होइन । बिहान उठेपछि नाडीमा रहेको ‘फिटबिट आयोनिक’को स्लिप स्कोर हेरें; हिजो ‘पुअर’ थियो; आज ‘फायर’ छ । बेलुका फेरि बाफ लिनु पर्ला; फेरि ज्वाँनोपानी लिनु पर्ला; यति भएपछि चल्छ भन्ठानें ।
कौशु आफ्नी विरामी आमालाई हेर्न नगएको दुईतीन दिन भइसकेको थियो । दाजुको घरपरिवारमा पनि आमालगायत धेरैलाई संक्रमण भएको जानकारी आइरहेको थियो । आज आमालाई हेर्न जाने उनको योजना हिजोदेखिकै थियो ।
उनलाई मेरै बाइकमा बस्न सुविधाजनक लाग्छ । भनें— “संक्रमितले चलाएको बाइकमा बसेर संक्रमित नै संक्रमित भएको ठाउँमा जाँदा तिमी संक्रमित हुन्नौ त ?”
हामी गयौं ।
अनि कौशु संक्रमित भइन् ।
यी पनि दुई दिनजति राम्रोसँग सुतिनन् । यसै बीच छोराहरू पनि संक्रमित भए ।
परिवारका सबै सदस्य संक्रमित हुँदा आत्तेस लाग्ने त छदैछ; अब परिवारभित्र चै आइसोलेसनमा बस्नु नपर्ने भयो भनेर मनको कुनै एक कुनामा खुशी पनि लाग्दोरहेछ ।
अब आज भने हामी सबै सामान्य छौं ।
यकिन गर्न सकेको छुइनँ— हामी कोरोना भाइरसकै ओमिक्रोन भेरिएन्टबाट संक्रमित थियौं कि, मौसमी रुघाखोकीबाट ?
तपाईंहरू सञ्चै हुनुहुन्छ ?
-ईश्वर पोखरेल
बोझेपोखरी, ललितपुर