समाचार
काठमाडौँ ।
सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । थारू लेखक संघ नेपाल तथा थारू अतिथि सेवा सदन समितिको आयोजनामा पटेर्वा सुगौली गाउँपलिका–२, बेलवा पर्सामा सम्मेलन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सबै भाषा, साहित्यको संरक्षण, सम्वद्र्धन गर्ने राज्यको दायित्व रहेको बताए । सोही क्रममा प्रज्ञाले धेरै भाषाको पत्रिका प्रकाशन थालेको उनले जनाए ।
थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले थरुहटका पालिकामा थारू जनप्रतिनिधि भएर पनि थारू भाषाको पठन पाठन हुन नसकेको जिकिर गरे । उनले थारू बालबालिकाको लागि पठनीय सामग्री नभएकाले पालिकाहरूले पाठ्यक्रम बनाइ सामग्री उत्पादन गर्न तथा लेखकहरूले बढीभन्दा बढी बालसाहित्य सिर्जना गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा थारू लेखक संघबाट स्थापित ६० हजार राशीको थारू साहित्य पुरस्कार बाराका महाकवि हृदयनारायण चौधरी तथा ३० हजार रुपैयाँ राशीको थारू महिला प्रतिभा पुरस्कार कैलालीकी गायिका समीक्षा चौधरीलाई दिइएको थियो । माघ १५ देखि १७ गतेसम्म आयोजित कार्यक्रममा विभिन्न विषयमा ६ शीर्षकको प्यानल छलफल भएको थियो ।
