• २०८२ फाल्गुन १४, बिहीबार

ज्योति साहित्य प्रतिष्ठानको १९औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ ।

ज्योति साहित्य प्रतिष्ठानको १९औँ वार्षिकोत्सवको अवसरमा साहित्यमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहको अध्यक्षता तथा कवि एवं संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कवि शैलेन्द्र साकार र कथाकार पुष्कर लोहनीको समेत उपस्थिति रहेको थियो ।

स्वास्थ्य अवस्था प्रतिकूल रहँदारहँदै पनि अध्यक्ष सिंहले निरन्तर कविता वाचन श्रृङ्खला र स्रष्टा सम्मान कार्यक्रम सञ्चालन गर्दै आएकोमा कार्यक्रममा वक्ताहरूले उहाँको साहित्यिक लगन र जुनूनको प्रशंसा गर्नुभयो । कार्यक्रममा कविता, गीत, गजल तथा लघुकथा वाचनसँगै लेखक–कवि राकेश कुमार झा (रसिक) को कवितासङ्ग्रह ‘म पनि लेख्न सक्छु’ को लोकार्पण गरिएको थियो । सो अवसरमा कवि रसिकको जन्मदिनको अवसर पारेर केक काटी शुभकामना व्यक्त गरिएको थियो ।

कवि तुलसी दिवसले यस अवसरमा नेपाली साहित्यका स्रष्टाहरू उषा शेरचन, ध्रुव मधिकर्मी, सीता पाण्डे र नीलम कार्की निहारीकालाई ‘ज्योति साहित्य सम्मान’द्वारा सम्मानित गर्नुभयो । त्यसैगरी ‘ज्योति प्रतिभा सम्मान’ द्वारा महेशराज खरेल, श्याम श्रेष्ठ, राजेशमान केसी, राकेश कुमार झा ‘रसिक’ र प्रेमकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै ‘ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान’ बाट साहित्यकार कल्पना मरासिनी र योगाज राजन ‘कविराज’ सम्मानित हुनुभएको छ ।

सम्मानित स्रष्टाहरूले आफूहरू सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै प्रतिष्ठानप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा कवि जाँयस जया र विभा झाले लोकार्पित कृतिबाट कविता वाचन गर्नुभएको थियो भने एंकर तथा पत्रकार पूजन मिश्रले गजल वाचनमार्फत उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो । ज्योति साहित्य प्रतिष्ठानको २२५औँ श्रृङ्खलाका रूपमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष मणिराज सिंहले अतिथि तथा स्रष्टाहरूलाई टोकन अफ लभ प्रदान गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।