• २०८१ माघ २७ आइतबार

आकृति पाण्डेद्वारा लिखित बालकथासङ्ग्रह ‘द स्प्राउटिङ स्टोरिज’ विमोचन

काठमाडौँ ।

आठ वर्षीय आकृति पाण्डेद्वारा लिखित बालकथा सङ्ग्रह ‘द स्प्राउटिङ स्टोरिज’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । संस्कार पब्लिकेसनद्वारा प्रकाशित सो बालकथा सङ्ग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा कथाहरू समेटिएका छन् ।

कलिलो उमेरमै साहित्यिक सिर्जनामा देखाएको क्षमतालाई मन्त्री पाण्डेले विशेष उल्लेख गर्दै लेखिकालाई थप प्रेरित गरेका थिए । उनले जुनसुकै पेशामा रहे पनि साहित्यसँग जोडिएका व्यक्ति अरूको तुलनामा कम अपवित्र हुने धारणा व्यक्त गरे । बीपी कोइरालालाई स्मरण गर्दै उनले साहित्यकारहरूको भावुकता समाजलाई सकारात्मक दिशामा डोहोर्याउने बताए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले वातावरणकै प्रभावले मानिसको चरित्र निर्माण हुने उल्लेख गर्दै आकृति पाण्डे एक विशिष्ट बालप्रतिभा रहेको धारणा राखे । जय नेपाल फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले आकृतिको सिर्जनामा अलौकिक प्रतिभा देखिएको उल्लेख गर्दै भविष्यमा उनी विशिष्ट साहित्यकार बन्न सक्ने विश्वास व्यक्त गरे ।

लेखक शङ्कर कुमार प्रधानले आकृतिले कथा लेखनका मापदण्डलाई राम्रोसँग पछ्याएको र पात्रहरूको न्यायपूर्ण चित्रण गरेको बताए । कार्यक्रमका वक्ताहरूले आकृतिको प्रतिभालाई अझ उजिल्याउन निरन्तर लेखन यात्रामा अघि बढ्नुपर्ने सुझाव दिए ।