हिन्दी कविता
काठमाडौँ ।
अनुवादक समाज नेपाल (Society of Translators Nepal) ले आफ्नो मासिक अनलाइन कार्यक्रम ‘अनुवाद विमर्श’ को पहिलो शृङ्खला सम्पन्न गरेको छ । आयोजक अनुवादक समाज नेपालले ‘अनुवाद विमर्श’ लाई ‘गह्रौं प्राज्ञिक बहस नभई अग्रजका अनुभव सुन्ने, गल्तीबाट सिक्ने र सफलताबाट प्रेरणा लिने खुल्ला डबली’ का रूपमा परिभाषित गरेको छ । समाजले यो कार्यक्रम सुरु गर्नुको मुख्य उद्देश्यमा अग्रज अनुवादकहरूको ज्ञानलाई मौखिक इतिहासका रूपमा हराउन नदिन अभिलेखीकरण गर्ने, नयाँ र पुराना पुस्ताबीचको ज्ञान पुस्तान्तरण गर्ने, र निरन्तर भेटघाट मार्फत पेसागत सञ्जाल तथा सम्बन्ध बढाउने रहेको जनाएको छ ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै वरिष्ठ कवि तथा अनुवादक भीष्म उप्रेतीले अनुवाद केवल भाषिक रूपान्तरण नभई एक उच्च सिर्जनात्मक र प्राविधिक कला भएको बताए । उनले अनुवाद गर्दा मूल लेखकको भाव, शैली र सांस्कृतिक परिवेशलाई न्याय गर्नुपर्नेमा जोड दिए । साथै, उनले आफ्नो अनुवाद यात्राका क्रममा भोगेका रोचक अनुभव र चुनौतीहरू सुनाएका थिए । पेन नेपालका समेत अध्यक्ष रहेका उप्रेतीले सन् १९९९ मा यूके बसाइका क्रममा आफ्ना कृतिहरू देखाउन अङ्ग्रेजी अनुवाद नहुँदा नेपाली साहित्यलाई विश्वसामु पु¥याउन अनुवादको अपरिहार्यता बोध भएको सुनाए ।
उनले अनुवादले ज्ञानको दायरा फराकिलो बनाउनुका साथै कोभिड कालमा दक्षिण एसिया, युद्ध साहित्य तथा इस्लामिक महिला कविहरूका कविताहरू अनुवाद गर्ने जस्ता महत्त्वपूर्ण परियोजनाहरू सम्पन्न गरेको बताए। उनको अनुभवमा साहित्यिक अनुवादमा सांस्कृतिक बिम्ब र भाषिक सूक्ष्मता प्रमुख चुनौती बन्ने गरेको छ। उप्रेतीले अनुवादक मूल लेखकको हृदयलाई बुझ्न सक्ने, सांस्कृतिक पृष्ठभूमिबारे जानकार रहने र शैलीप्रति इमानदार रहनुपर्नेमा जोड दिए। साथै, अनुवाद गरिसकेपछि तत्काल प्रकाशन नगरी केही समय राखेर पुनः सम्पादन गर्दा गुणस्तर बढ्ने उनको सुझाव छ ।
कार्यक्रमको औपचारिक समापनपश्चात् अनुवादक समाज नेपालका अध्यक्ष डा. बाल राम अधिकारी र महासचिव डा. ऋषि राम अधिकारीले संयुक्त रूपमा भने, “भीष्म उप्रेतीज्यूको यो गहन उपस्थितिले अनुवाद विमर्शलाई नयाँ उचाइ दिएको छ। उहाँका अमूल्य अनुभवहरू नयाँ पुस्ताका अनुवादकहरूका लागि प्रेरणाको स्रोत र महत्त्वपूर्ण दस्तावेज बन्नेछन्।” समाजले यो ‘अनुवाद विमर्श’ को यात्रा हरेक महिना निरन्तर चल्ने बाचा गरेको छ। कार्यक्रमको अन्त्यमा, अनुवादक समाज नेपालले भीष्म उप्रेतीलाई प्रशंसा–पत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो ।
