• २०८२ माघ २१, बुधबार

‘सुरभि साहित्य प्रतिष्ठान’ ले मनायो वार्षिकोत्सव

काठमाडौँ ।

सुरभि साहित्य प्रतिष्ठानले स्रष्टाहरूलाई पुरस्कारहरू समर्पण, अभिनन्दन र कृति लोकार्पण गरेर १८ औं वार्षिकोत्सव मनाएको छ । सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, इतिहासविद् प्रा. दिनेशराज पन्त, समालोचक गोपी मैनाली, कृति विश्लेषक कवि महेश प्रसाईं, प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे तथा डा.अर्जुनदेव भट्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रा. डा. समालोचक अभि सुवेदीलाई अभिनन्दन गरिएको थियो । त्यस्तै गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार २०८२ बाट आख्यानकार खगेन्द्र सङ्ग्रौलालाई नगद राशि रू २५०००/– सहित पुरस्कृत गरिएको थियो ।

सुरभि बाजुराम आख्यान साधना पुरस्कार २०८२ बाट कथाकार सुशीला प्रधानाङ्गलाई नगद राशि रू २५०००/– सहित पुरस्कृत गरिएको थियो । सुरभि विजय वाङ्मय पुरस्कार २०८२ बाट समालोचक ठाकुर शर्मा भण्डारीलाई नगद राशि रू ५१०००/–सहित पुरस्कृत गरिएको थियो । यसैगरी सुरभि रमा– बद्री निबन्ध पुरस्कार २०८२ बाट निबन्धकार रामप्रसाद पन्तलाई नगद राशि रू २५०००/– सहित पुरस्कृत गरिएको थियो । प्रमुख आमन्त्रित व्यक्तित्व मेयर दीपककुमार रिसालले गोकर्णेश्वर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा साहित्यिक कार्यक्रमहरू समावेश गर्ने गरिएको बताउँदै नगरपालिकाभित्र स्थानीय,राष्ट्रिय साहित्यिक कार्यक्रम हुँदै आएकोमा अब अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम गर्ने योजना रहेको बताउँदै हाल नगरपालिकाभित्र १० साहित्यिक संस्था रहेको र सबै संस्थालाई नगरपालिकाले सहयोग गर्दै आएको बताए ।

संस्थाका सचिव अच्युत घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सहसचिव मेनुका पोखरेलले उपस्थितजनलाई शब्द मार्फत स्वागत गरेकी थिइन् । कार्यक्रमका सभाध्यक्ष बाजुराम पौडेलले अभिनन्दित तथा पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै कार्यक्रममा उपस्थित सबैमा हार्दिक आभार प्रकट गरको थिए । अभिनन्दित व्यक्तित्व प्रा. डा. अभि सुवेदी तथा पुरस्कृत व्यक्तित्वहरू खगेन्द्र सङ्ग्रौला तथा सुशीला प्रधानाङ्गले मन्तव्य राखेका थिए । सुरभिका संरक्षक युवराज मैनालीले पुरस्कृत व्यक्तित्वहरूको परिचय गराएका थिए । कार्यक्रममा सुरभिका संरक्षक गोविन्द घिमिरे वेदमणि, प्राडा खगेन्द्र सङ्ग्रौला, प्राज्ञ दिनेशराज पन्त र गोपी मैनालीले मन्तव्य दिँदै पुरस्कृतलाई बधाई दिएका थिए । बेँसीगाउँ, ढोल्खाधारोस्थित कृष्ण मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक तथा कथाकार युवराज मैनालीको ‘पात्र विघटन’ लघुकथासङ्ग्रह लोकार्पण समेत गरिएको थियो । मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा ‘पात्र विघटन’ लघुकथासङ्ग्रह लोकार्पण गरिएको थियो ।

समालोचक महेश प्रसाईंले ‘पात्र विघटन’ लघुकथासङ्ग्रहको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कथाकार युवराज मैनाली नेपाली लघुकथामा पहिलो खलिल जिब्रान भएको र मैनालीका कथाहरू पढ्दा कविता पढे जस्तो लाग्ने प्रसाईंले बताए । लोकार्पित कृति लघुकथाकार मैनालीको दोस्रो लघुकथासङ्ग्रह हो । यसअघि उनका ८ कृति प्रकाशनमा आइसकेका छन् । कार्यक्रममा मणिपुर–आसाम,भारतका साहित्यकार मुक्ति गौतम, ललिता दोषी, महेन्द्र चालिसे, मधुसूदनप्राद घिमिरे र प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले लघुकथा वाचेका थिए । प्रतिष्ठानका सदस्य वसन्त रिजालले प्रतिष्ठानको गतिविधि तथा पुरस्कारहरूबारे प्रकाश पारेका थिए । कार्यक्रममा सुलेख साहित्यिक मासिक पत्रिकाको विजय चालिसे स्मृति अङ्क पनि लोकार्पण गरिएको थियो ।कथाकार तथा पत्रकार विजय चालिसेको तस्बिरमा फूलमाला चढाई हार्दिक श्रद्धासुमन अर्पिएको थियो ।