समाचार
पाटन ।
पाटन सङ्ग्रहालयमा तीन दिने तेश्रो बालसाहित्य महोत्सव शुरु गरिएको छ ।
आईतबारबाट सुरु गरिएको उक्त महोत्सवलाई बाल गायिका कल्पना विष्टले उद्घाटन गरिन् । सोही अवसरमा वार्षिक कार्यक्रम अन्तर्गत नेपाल बालसाहित्य समाजका विभिन्न दाताहरूले स्थापना गरेका पुरस्कार विभिन्न बाल साहित्यकारहरूलाई समर्पण पनि गरिएको थियो । ध्रुवसुशीला बाल अनुसन्धान पुरस्कार प्रमोद प्रधानलाई, चूडाचरण बालजीवनी पुरस्कार भिक्टर प्रधानलाई, तेजप्रतिभा बालनियात्रा पुरस्कार घनश्याम राजकर्णिकारलाई र मुकेशजनक विज्ञान बालसाहित्य पुरस्कार सिर्जना शर्मालाई प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि एक बालिका कल्पना विष्ट थिइन्, जसले चारै जनालाई पुरस्कार अर्पण गरेकी थिइन् ।
कार्यक्रममा कथाकार धीरकुमार श्रेष्ठले बालकथा वाचन गरेका थिए भने कल्पना विष्टले गीतहरू गाएकी थिइन्। त्यसरी नै केदार श्रेष्ठको निर्देशनमा कवि शकुन्तला जोशीको कविताको नाट्यरूप प्रस्तुत भएको थियो । अनि इन्द्रजात्रालाई पनि बालबालिकाले प्रस्तुत गरेका थिए। माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव शुरु भएको हो ।
बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव शुरु भएको छ । हिजो नै अर्को सेसनमा ’सामाजिक सञ्जाल र बालबालिका’ विषयक सामूहिक संवाद सत्रमा वक्ताहरूमा मनोविद् गंगा पाठक, क्लिनिकल हेल्थ नर्स सुशीला श्रेष्ठ र लेखक तथा पत्रकार दामोदर न्यौपानेसँग पत्रकार क्रान्ति पाण्डेले बहस गरेका थिए । उक्त बहस सत्रमा बालबालिकामा बढ्दो सामाजिक सञ्जाल र मोबाइल प्रविधि कम गर्न अभिभावकीय भूमिका नै प्रमुख रहने निष्कर्षसहित कार्यक्रमलाई समापन गरिएको थियो ।
त्यस्तै, कार्यपत्र प्रस्तुतिमा वरिष्ठ वनस्पतिविद् तथा विज्ञान लेखक तीर्थबहादुर श्रेष्ठले ’बालसाहित्यमा विज्ञान’ विषयमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि मुकेशकुमार चालिसेले टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा बालसाहित्यका इतिहास लेखक प्रमोद प्रधानले सभापतित्व गरेका थिए । कार्यक्रममा नेपालमा जति हुनुपर्ने हो त्यही गतिमा विज्ञानलाई समेटेर बालसाहित्यमा कामहरू नभएको कुरा प्रकाशमा ल्याइएको थियो ।
समाजका अध्यक्ष विजयराज आचार्यले ’शब्दपथ’लाई जानकारी दिएअनुसार महोत्सवमा बालसाहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बालसाहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन् । आज माघ १२ गते दिनको १२ः३० बजे उनीद्वारा लिखित आठ बालसाहित्यका कृतिहरूको संयुक्त विमोचन पनि हुँदैछ ।
काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुने महोत्सवमा रचना प्रस्तुति र बङ्गलादेशका साहित्यकार प्रा. डा. मिजानुर रहमान कल्लोलले समेत कार्यपत्र प्रस्तुत गर्ने महोत्सवकी संयोजक यशोदा अधिकारीले जानकारी दिइन् । तेश्रो बालसाहित्य महोत्सव पाटन सङ्ग्रहालयमा आज १२ गते र भोलि १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन रहनेछ ।
