• २०८२ फाल्गुन १५, शुक्रबार

वैजयन्ती स्रष्टा सम्मान साथै वैजयन्ती शताङ्क विमोचन कार्यक्रम सम्पन्न

काठमाडौँ ।

शब्दार्थ प्रकाशनद्वारा प्रकाशित वैजयन्तीको १९ औँ वर्ष प्रवेशको उपलक्ष्यमा २०८२ माघ १० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा वैजयन्ती विधा केन्द्रित साहित्यिक पत्रिकाको शताङ्क (१००) अङ्क विमोचन गरिएको छ । साहित्यकार देवु लुइटेलद्वारा सञ्चालित वैजयन्तीका वर्तमान प्रधान सम्पादक रमेश शुभेच्छुको सभापतित्व र साहित्यकार तथा शिक्षाविद् विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्ष प्रकाशित विशेषाङ्कका एक एक श्रेष्ठ रचनालाई प्रदान गरिँदै आएको वैजयन्ती स्रष्टा सम्मान वर्ष ०७९–०८२ का स्रष्टा साहित्यकार –
अङ्क ८५. इन्दु पन्त (लघुउपन्यास),
अङ्क ८६. हंसा कुर्मी (कथा),
अङ्क ८७. सन्ध्या खनाल (संस्कृति),
अङ्क ८८. प्रा. पुरूषोत्तम दाहाल (संस्मरण),
अङ्क ८९. धनञ्जय बाँस्कोटा (नाटक),
अङ्क ९०. मुरारीराज मिश्र (मुक्तक),
अङ्क ९१. अनुराग अरूण (गजल),
अङ्क ९२. रामकुमार पण्डित (लघुकथा),
अङ्क ९३. देवीप्रसाद चापागाई (निबन्ध),
अङ्क ९४. प्राडा. देवी पन्थी (चारू),
अङ्क ९५. इन्दिरा चापागाई (गीत),
अङ्क ९६. डा.मधूसूदन लामछाने (स्वर्वार्ता),
अङ्क ९७. सुमी लोहनी (हाइकु),
अङ्क ९८. बिनोद खड्का (विदेशयात्रा),
अङ्क ९९. प्राडा. भागवत ढकाल (समालोचना),
अङ्क १००. रमेश दवाडी (वैजयन्तीको इतिहास) समेत १८ स्रष्टालाई एक साथ सम्मान गरियो ।

यसैगरी उक्त समय वैजयन्ती १ देखि १०० अङ्कसम्मका सम्पादक यादव भट्टराई, वैजयन्ती ५ देखि ८६ अङ्कसम्मका सम्पादक ठाकुर शर्मा भण्डारी तथा वैजयन्तीको आवरणका लागि निरन्तर क्यानभास चित्र उपलब्ध गराउने सुबोध घिमिरेलाई शब्दार्थ उत्कृष्ट सेवा सम्मानद्वारा सम्मान गरियो ।

यसैगरी उक्त कार्यक्रममा समालोचक तथा वैजयन्तीका सम्पादक यादव भट्टराई, निवर्तमान प्रधान सम्पादक ठाकुर शर्मा भण्डारी, वर्तमान सम्पादक डा. रमेश शुभेच्छु, प्रमुख अतिथि प्रा. डा. विद्यानाथ कोइराला, सम्मानित व्यक्तित्व प्रा. पुरूषोत्तम दाहाल तथा वैजयन्ती पत्रिकाका निर्देशक साहित्यकार विनयकुमार शर्मा नेपालले पत्रिकाको निरन्तरताका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।