• २०८२ माघ १०, शनिबार

मधिकर्मीको ‘महान् अभियान’ व्यङ्ग्यसङ्ग्रह माथि विमर्श

भक्तपुर ।

सिर्जना अभियान समाजको आयोजनामा भक्तपुर दरबार स्क्वायरस्थित ख्वपछेँ रेस्टुराँमा स्रष्टा ध्रुव मधिकर्मीको व्यङ्ग्यसङ्ग्रह ‘महान् अभियान’माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समीक्षक कथाकार अभय श्रेष्ठले लामो समयदेखि कथा विधामा सक्रिय मधिकर्मीका व्यङ्ग्यहरू पनि कथाजस्तै प्रभावकारी रहेको बताउनुभयो । सामान्य विषयमा लेखिएको जस्तो देखिए पनि ‘महान् अभियान’भित्रका व्यङ्ग्यहरूले पाठकलाई गहन सन्तुष्टि दिने उहाँको भनाइ थियो ।

अर्का समीक्षक डा. हिमलाल श्रेष्ठले मधिकर्मीका व्यङ्ग्यहरू सामाजिक मर्यादाभित्र शिष्ट ढङ्गले लेखिएको उल्लेख गर्दै ती व्यङ्ग्यहरूमा समसामयिक राजनीतिक विसङ्गति र विकृतिमाथि सशक्त कटाक्ष गरिएको बताउनुभयो । स्रष्टा ध्रुव मधिकर्मीले एक समय पत्रपत्रिकामा व्यङ्ग्य लेखनको लहर चलेको बेला आफू पनि यस विधामा कलम चलाएको स्मरण गर्दै व्यङ्ग्यमार्फत् गहिरा सामाजिक र राजनीतिक सन्देश दिन सकिने धारणा व्यक्त गर्नुभयो ।

सभापतित्वको आसनबाट बोल्दै सिर्जना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठले मधिकर्मीले भक्तपुरमा साहित्यिक गतिविधि सशक्त बनाउन तथा नवोदित स्रष्टाहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण योगदान पुरयाएको बताउनुभयो । २५ वटा व्यङ्ग्य समेटिएको ‘महान् अभियान’ कृति सिर्जना अभियान समाजद्वारा प्रकाशित गरिएको हो ।