समाचार
काठमाडौँ ।
गोरखापत्र संस्थानअन्तर्गत प्रकाशित देशकै जेठो साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’को सम्पादकमा तुलसीहरि कोइराला नियुक्त हुनुभएको छ । गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी र महाप्रबन्धक लालबहादुर ऐरीले माघ ६ गते आयोजित कार्यक्रममा कोइरालालाई पदस्थापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष भण्डारीले ‘मधुपर्क’को सम्पादकका रूपमा कोइरालाको नियुक्तिले पत्रिकामा नयाँ आयाम थपिने अपेक्षा व्यक्त गर्नुभयो। यस्तै, महाप्रबन्धक ऐरीले अध्ययनशील पाठकले रुचाउने ‘मधुपर्क’लाई अझ परिमार्जित र समृद्ध बनाउँदै अघि बढाउन शुभकामना दिनुभयो । पदस्थापन कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत र दी राइजिङ नेपालका प्रधान सम्पादक विष्णुप्रसाद गौतमलगायतले पनि कोइरालालाई सफल कार्यकालको कामना गर्नुभएको थियो ।
हाल गोरखापत्र दैनिकको दिवा डेस्कका सम्पादक तथा प्रमुखका रूपमा कार्यरत कोइरालासँग पत्रकारिता पेशाको प्रारम्भदेखि नै ‘मधुपर्क’मा दीर्घकालीन कार्यानुभव रहेको छ । यसअघिका सम्पादक त्रिभुवनचन्द्र वाग्ले भने गत माघ ६ गतेबाट अवकाशमा जानुभएको हो ।
