समाचार
काठमाडौं ।
नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ’यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा. डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा. सृजना शर्मा, छविरमण सिलवाल, लेखनाथ हुमागाईं, केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए । लेखनीमा इमान्दार हुनुपर्ने भन्दै सापकोटाले नियात्राकार इमान्दार रहेको देखिएको बताए ।
कृतिमाथि परिचर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्धन्दकालीन समयको चित्र भएको बताए । उनले भने ’निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिले स साना दृश्यलाई अनुभूतिमय ढंगले लेखिएको छ ।’ लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए । अर्का चर्चाकार डा. सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःख र पीडा, राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिको वारेमा चर्चा गरिएको बताइन । कृतिले पाठकलाई संगै घुमाउने उनको भनाई थियो । ’यात्राको लयले पूर्वदेखि सुदुर पश्चिमसम्मका विभिन्न स्थानहरुसम्म पाठकलाई लैजान्छ ।’
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए । स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशिल स्रष्टा भएको बताए । लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए । नियात्राकार सापकोटाले आफु लेख्न रहर गर्ने व्यक्ति भएपनि असल पाठक भएको बताए । नियात्राकार पवन आलोकले सापकोटाको सरल र सबैसंग घुलमिल हुने बानी रहेको भन्दै कृतिको सफलताको निम्ति शुभकामना दिए । अर्का साहित्यकार किशोर पहाडीले सापकोटासँग चिनजानको प्रसङ्ग कोट्याए । साहित्यिक पत्रकार संघका राधेश्याम लेकालीले वहुआयामिक व्यक्तित्वको रुपमा सापकोटालाई चिनेको बताए ।
भुँडीपुराणका प्रबन्ध निर्देशक केशव पराजुलीले सापकोटालाई आफुले परिवारको सदस्यको रुपमा लिएको बताए । उक्त कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरेका थिए । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरिन् । ‘यात्राको लय’ लाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु. ३०० रहेको छ ।
