• २०८२ फाल्गुन ८, शुक्रबार

पहिलो नेपाली गजल एल्बम ’मतला’ सार्वजनिक

काठमाडौँ ।

भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ’मतला’ बजारमा आएको छ । दार्जिलिङको रिदम रेकरडिङ्सले प्रस्तुत गरेको ’मतला’ दार्जिलिङकै सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा तयार भएको हो । गजलकारहरू राधा कणेलका ३, रश्मि असफल र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको ’मतला’मा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिनुभएको छ । एल्बममा दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास र सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारले स्वर दिनुभएको छ ।

काठमाडौँमा शनिबार गरिएको सार्जननिकीकरणमा ’मतला’माथि समीक्षा गर्दै विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले ’नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०–२०९०’ अभियानअन्तर्गत भारतबाट समेत नेपाली गजल आउनुले अब नेपाली गजल लेखनसँगै गायनले पनि व्यापकता पाएको बताए । श्रेष्ठले ’मतला’ साङ्गीतिक हिसाबले सुन्दर र सशक्त भएको सुनाउनु भयो । श्रेष्ठले भन्नु भयो, ’सङ्गीतको भाषा, भूगोल हुँदैन । व्यक्तिको संवेदना छुने हरेक सङ्गीत विश्वव्यापी बन्छ ।’ उनले यस एल्बमले नेपाली गजल गायनलाई अन्तर्राष्ट्रियकरण गरेको पनि बताउनु भयो । अर्का समीक्षक गजलकार, गीतकार एवं सङ्गीतकार करुण थापाले गजलले सङ्गीतको श्वास पाएपछि मात्र जीवन्त बन्ने धारणा राख्नु भयो । थापाले ’मतला’ एल्बममा समावेश गजलहरू शब्द, सङ्गीत र गायन तीनै कोणबाट सशक्त रहेका बताउनु भयो ।

थापाले भन्नु भयो, ’नेपाली गजल गायन अभियानले तीव्रता लिइरहेका बेला यसरी देशबाहिरबाट समेत एल्बम आउनु खुसीको विषय हो ।’ गजलकार राधा कणेलले ’मतला’ रेकर्ड गर्दाका सन्दर्भ जोड्दै सङ्गीतकार प्रधान परिष्कृत साधक रहेका र अत्यन्त मिहिनेतपूर्वक एल्बम तयार भएको बताउनु भयो । रश्मि असफलले २० वर्षभन्दा लामो समयदेखि गजल लेखिरहे पनि सङ्गीतमा भर्खरै आउन थालेको सुनाउनु भयो । असफलले आफू परिष्कृत गजल लेखनका लागि अभ्यासरत रहेको सुनाउनु भयो । गत २७ पुसमा असफलकै शब्दमा सन्तोष श्रेष्ठले कोशी प्रदेशको झापामा एकल गजल गायन ’रश्मि गजल गुञ्जन’ सम्पन्न गरेको जानकारी पनि गराउनु भयो ।

गजलकार एवम् गजल अभियन्ता घनेन्द्र ओझाले सङ्गीतकार सन्तोष श्रेष्ठ र आफूले घोषणा गरेको ’नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०–२०९०’ अभियानले देशको सीमा नाघिसकेको भन्दै यस अभियानमा सबैलाई जोडिन अनुरोध गर्नु भयो । ’अब हामी भारतसम्म पुगिसकेका छौँ’, ओझाले भन्नु भयो, ’भारतबाट पनि पहिलो नेपाली गजल एल्बमका रूपमा मतला आइसकेको छ । अरू धेरै यस्ता एल्बम आउने विश्वास छ ।’ सङ्गीतकार प्रधानले आफू ४० वर्षदेखि सङ्गीतमा समर्पित भए पनि सधैँ विद्यार्थी जस्तै भएको भन्दै निरन्तर साधनाले गजल सङ्गीततर्फ मोडेको सुनाउनु भयो । प्रधानले ’मतला’ गजलको शुभारम्भ शेर भएजस्तै यो एल्बम पनि आफ्नो गजल सङ्गीतको शुभारम्भ भएको बताउनु भयो ।

अग्रज गजलकार बूँद राना र अग्रज गायिका कविता आलेले शुभकामना व्यक्त गर्नु भयो । प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले ’मतला’ले नेपाली गजल सङ्गीतका क्षेत्रमा विशेष अर्थ र महत्त्व राख्ने बताउनु भयो । शब्द र सङ्गीतको उपयुक्त संयोजन अनि स्वरको सही छनोटले गजल उत्कृष्ट बन्ने भन्दै बरालले ’मतला’भित्रका गजलमा यी विशेषता रहेका सुनाउनु भयो । बरालले गजल सङ्गीतका विविध शैली र तरिका हुने बताउनु भयो । नेपालमा गजल सङ्गीत र गायन नेपाली माटो, भाषा, बाजा, उपकरण र नेपालीपनअनुसारकै हुने सुनाउनु भयो । भारत वा अन्य देशका सङ्गीत र गायनका शैली नेपालमा खोजिनु उपयुक्त नहुने बरालको धारणा थियो ।

अनाममण्डलीले आयोजना गरेको कार्यक्रमलाई लभ एन्ड सपोर्ट फाउन्डेसन, नेपालले व्यवस्थापनमा सहयोग गरेको थियो । कार्यक्रमको सभापतित्व अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले गर्नुभएको भने सहजीकरण ज्ञानु विद्रोहीले गर्नुभएको थियो ।