• २०८२ फाल्गुन ९, शनिबार

‘नरहरि महर्जनका कविता’ कवितासंग्रह विमोचित

काठमाडौँ ।

भूगोल साहित्य समाजले नरहरि महर्जनको कवितासंग्रह ‘नरहरि महर्जनका कविता’ लोकार्पण गरेको छ । भूतपूर्व राज्यमन्त्री दिलिप महर्जनको सभाध्यक्षता र कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कीर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, रावा बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापा र पाँगा माविका निर्देशक रामेशमान महर्जन विशेष अतिथि रहेका थिए ।

पूर्वराज्यमन्त्री महर्जनले कवि महर्जनले लामो समयदेखि साहित्य सिर्जना गरे पनि यो उमेरमा कृति प्रकाशित गर्नु साहित्यमा रुचि राख्ने सबैका लागि खुसी र प्रेरणाको भएको बताए। साथै उनले बैंकबाट सेवानिवृत्त कर्मचारीले संस्थाको स्थापना गरी साहित्य सेवा गरेको थाहा पाउँदा आफूलाई खुशी लागेको पनि बताए । कीर्तिपुरस्थित पाँगा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमको सञ्चालन सम्झना महर्जन र शैलेन्द्रकुमार शाहले गरेका थिए ।

नगर प्रमुख डंगोल तथा विशेष अतिथि उपप्रमुख शाक्यले विकास भनेको सडक विस्तार, भवन निर्माण वा त्यस्तै कार्यहरू मात्र नभई भाषा, साहित्य, कला, संस्कृति जस्ता क्षेत्रको विकास समेत हो भन्दै यिनलाई सँगसँगै लैजानुपर्ने बताए । यसका साथै त्यस्ता क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाका लागि पालिकाले सहयोग गर्दे आएको र गर्दै जाने पनि उनीहरूले बताए ।

विशेष अतिथि भूगोल साहित्य समाजका अध्यक्ष नेपालले कीर्तिपुर जस्तो ऐतिहासिक–सांस्कृतिक नगरीमा स्थानीय जनप्रतिनिधिहरू समेतको उपस्थितिमा यस्तो कार्यक्रम आयोजना गर्न पाउनु समाजका लागि खुशीको कुरा भएको र यसबाट समाज र कीर्तिपुरबासीवीच नयाँ सम्बन्ध स्थापना भएको बताए । उक्त कृति भूगोल साहित्य समाजले गरेको हो। कार्यक्रममा दिनेश विक्रम थापाले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। सो कार्यक्रममा आगन्तुक तथा अतिथिहरूको स्वागत एवम् कवि महर्जनको लेखन र समग्र परिचय दिने काम मदन डंगोलले गरेका थिए ।

नरहरि महर्जनले लेखकीय मन्तव्यसँगै आफ्नो एक कविता वाचन गरेको कार्यक्रममा शालिकराम महर्जनले आफ्नो कविता वाचन गरेका थिए भने कृतिभित्रको कविता शैलेन्द्रकुमार शाहले समेत वाचन गरेका थिए ।