• २०८२ माघ १५, बिहीबार

शंकर शाहका तीन पुस्तक लोकार्पित

काठमाडौँ ।

कवि साहित्यकार शंकर शाहका तीन पुस्तक एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । दायित्व वाङमय प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. मदनकुमार भट्टराई, साहित्यकारहरू भागीरथी श्रेष्ठ, रमा शर्मा, रामप्रसाद पन्त लगायतले शाहको ‘जेन लहर’, ‘दोबाटेको च्याखुरा’ र ‘आइना जो देखाउँछ’ लोकार्पण गरे ।

कार्यक्रममा सार्वजनिक तीनै पुस्तकमाथि समालोचक प्रा.डा. ढकालले समीक्षात्मक टिप्पणी गरे । डा. भागवत ढकालले ८५ वर्षको उमेरमा पनि कृतिकार शाहमा लेखनको उर्जा अथाह रहेको बताए । उनले यी तीनै कृतिहरूभित्र कविता, कथा, हाइकु र संस्मरणहरू रहेको उल्लेख गरे ।

कार्यक्रममा कृतिकार शाहले आफू रहरै रहरमा साहित्य लेख्ने गरेकोे बताउँदै किताबमा देखिएका केही कमीकमजोरी बारेमा उल्लेख गरे । डा. भट्टराईले कृतिकार शाहसँगको सम्बन्धबारे चर्चा गरे । उक्त अवसरमा साहित्यकार पन्तले केही समयपछि कवि साहित्यकार शंकर शाहको अभिनन्दन ग्रन्थ निकाल्ने तयारी रहेको बताए ।