• २०८२ माघ १६, शुक्रबार

जगदीश घिमिरे प्रतिष्ठानबाट दुई स्रष्टा पुरस्कृत

काठमाडौं ।

जगदीश घिमिरे प्रतिष्ठानले साहित्यकारहरू पवन आलोक र मीना चौलागाईंलाई ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ (क्रमशः २०८१ र २०८२) बाट पुरस्कृत गरेको छ । साहित्यकार जगदीश घिमिरेको ११औँ स्मृति दिवसको अवसर पारेर शनिबार (माघ ३) रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरियो । मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेत र प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले नगद राशि जनही ५१ हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरे ।

कार्यक्रममा उपमेयर बस्नेतले प्रतिष्ठानले गर्दै आएको साहित्यक कर्मको चर्चा गरिन् । प्रतिष्ठानप्रति नगरपालिकाको धारणा सकारात्मक रहेको उनले बताइन् । कार्यक्रममा केही वक्ताले हाल सरकारी स्वामित्वमा रहेको साहित्यकार जगदीश घिमिरे जन्मिएको मन्थलीस्थित घरलाई संग्रहालयका रूपमा विकास गरिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू नगेन्द्रराज शर्मा र रोचक घिमिरे र प्रा. डा. ज्ञानू पाण्डेले पनि आफ्ना धारणा राखे । दिवंगत साहित्यकार जगदीश घिमिरेका विषयमा कथाकार माधव सयपत्रीले बोलेका थिए ।

कार्यक्रममा ज्ञानू पाण्डे, हिरालाल आचार्य (अनार बाजे), गंगा चापागाईं, गौरव बोहोरा, डा. उमेश घिमिरे, बद्री नयाँघरे, देविका तिमल्सिना, मधु पाठक, प्रेम घिमिरे, राजेश उपाध्याय, सुषमा आचार्य ‘अंशु’, कुमार दाहाल, वसन्त रिजाल, प्रतीक घिमिरे, डा. सुमन कर्माचार्यलगायत कविले आफ्ना रचना वाचन गरे । कार्यक्रममा ‘साहित्यिक र सामाजिक योगदानमा जगदीश घिमिरेको उपस्थिति’ विषयक वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।