समाचार
काठमाडौं ।
कवि कृष्ण उदाशीको कविता सङ्ग्रह ‘पानीको पर्खाल’ राजधानी काठमाडौंमा विमोचन गरिएको छ। गत शनिबार काठमाडौंको सर्वनाम थिएटरमा आयोजित विशेष कार्यक्रममा उक्त कृति विधिवत रूपमा सार्वजनिक गरिएको हो । अग्रज कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि श्रवण मुकारुङ, समीक्षक डा. अशोक थापा, कृतिका सर्जक कृष्ण उदाशी र उपन्यासकार जयराम तिम्सिनाले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा समीक्षक डा. अम्बिका अर्याल र डा. अशोक थापाले कृतिमाथि समीक्षात्मक धारणा राख्नुभएको थियो । डा. अम्बिका अर्यालले कवि उदाशीको शब्दसँग खेल्ने कलालाई सुन्दर भन्दै कृतिले त्यसलाई स्पष्ट रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो । तर कविताहरू सामान्य पाठकका लागि सहज नहुन सक्ने टिप्पणी पनि गर्नुभयो । समीक्षक डा. अशोक थापाले सङ्ग्रहका कविताहरू शालीन र शक्तिशाली रहेको बताउनुभयो । उहाँले सङ्ग्रहमा मजदुर केन्द्रित कविताहरू प्रशस्त भए पनि ती कविताहरू मजदुर वर्गले सहजै बुझ्न सक्ने खालका नरहेको धारणा व्यक्त गर्नुभयो ।प्रमुख अतिथि कवि श्रवण मुकारुङले कविलाई बधाई दिँदै कविता सार, दर्शन र अनुभूतिको तहमा बाँच्ने विधा भएको उल्लेख गर्नुभयो । ‘पानीको पर्खाल’ भित्र यी सबै तत्व समेटिएकोमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।
विमोचन कार्यक्रममा कवि कृष्ण उदाशीले आफ्नो कृतिको सन्दर्भ जोड्दै काठमाडौंले मोफसलप्रतिको दृष्टिकोणलाई प्रश्न गर्नुभयो । “काठमाडौंले जहिल्यै हामीलाई मोफसलको ठान्छ, हामी होइनौँ भन्छौँ, ऊ हो भन्छ। यही पर्खाल भत्काउन म यहाँ उभिएको हुँ,” उहाँले भन्नुभयो । सो अवसरमा उहाँले सङ्ग्रहभित्रका ‘हिउँद र मेरा बा’ र ‘गाउँ र आमाहरू’ शीर्षकका दुई कविता वाचन गर्दै उपस्थित श्रोताहरूलाई भावुक बनाउनुभएको थियो । कार्यक्रमको सुरुआत सञ्चालक महेश क्षितिजले सङ्ग्रहको ‘बाबुको गर्भ’ शीर्षकको कविता वाचन गरेर गर्नुभएको थियो । त्यसपछि राधा कँडेलले ‘अनुभव’, महेश पौडेलले ‘ईश्वरको परमधाम’ र चन्द्रवीर तुम्बोपोले ‘बुद्धको अनावरण’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा गायक–संगीतकार राजनराज शिवाकोटी, गायक–संगीतकार गौरभ दर्पण, प्रा.डा. जनार्दन घिमिरे, उपन्यासकार श्याम सिंहक, कवि चन्द्रवीर तुम्बापो, कवि विशाल नाल्बो, कवि मिथोच, उपन्यासकार जयराम तिम्सिना, कुशलदेव घिमिरे, नवराज थापा, योगमाया दाहाल, शरद अधिकारीलगायत पाँच दर्जनभन्दा बढी सर्जक तथा शुभचिन्तकको उपस्थिति रहेको थियो ।
