समाचार

काठमाडौँ ।
वरिष्ठ साहित्यकार प्राध्यापक मोहन सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले भारतको कोलकातामा आयोजना गरेको ९३ औँ जन्मजयन्त्तीको अवसरमा सम्मान गरिएको हो ।
कलाम आधुनिक एरोस्पेसका शीर्ष वैज्ञानिक र मिसाइल म्यान अफ इन्डिया रहेका थिए । उनी भारतका ११ औँ राष्ट्रपति भएका थिए । कलामले ‘ग्रीन टेक्नोलोजी’ को अभिनव अभियान पनि शुरु गरेका थिए । उनको सन् २०१५ मा निधन भएको थियो । फाउन्डेसनले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि मेघालय विधान सभाका अध्यक्ष थोमस ए संगमा थिए ।
प्रा. सिटौलालाई प्रमुख अतिथि तथा फाउन्डेसनका अन्तर्राष्ट्रिय सल्लाहकार तथा कार्यक्रमका संयोजक प्रदीप खनालले मन्तव्य प्रदान गरेका थिए ।यसअघि सोही दिन फाउन्डेसनले अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रमको उद्घाटन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रा. सिटौलाले सम्बोधनसमेत गरेका थिए ।
नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन सिटौलाको भूमिका अहम् छ । गत वर्षमात्रै उनले अनेसास सुनील पाठक विशिष्ट पुरस्कार पाएका थिए । सिटौलाले दुई हजार डलरसमेत प्राप्त गरेका थिए । यो पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ । सिटौला अनेसासका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।
एक दर्जन भन्दा बढी पुस्तक लेखिसकेका ८२ वर्षीय सिटौलाले नेपालमा रहँदा थुप्रै क्याम्पसको नेतृत्व सम्हालेका थिए । यसअघि सिटौला गत वर्ष नै असार २९ गते भानु जयन्तीको अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित भएका थिए ।