समाचार
पोखरा ।
नेपाली ग्रामीण जनजीवन र फिजी टापुको डायस्पोरिक व्यथालाई एउटै त्यान्द्रोमा उनेर तयार पारिएको लेखक निष्प्रभ सजीको नयाँ उपन्यास ‘याली’ सार्वजनिक भएको छ । पोखरामा शनिबार आयोजित साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ को विशेष समारोहमा साहित्यकार सरुभक्तले कृति लोकार्पण गरे । विमोचनपछि आयोजित बहस कार्यक्रममा लेखक सजीले आफ्नो नौ वर्ष लामो लेखन यात्रा, ग्रामीण स्मृति र प्रवासका भोगाइहरू साटेका थिए । उनीसँगको संवादको सहजीकरण साहित्यकार सरुभक्तले गरेका थिए ।
बहसका क्रममा साहित्यकार सरुभक्तले उपन्यासको विषयवस्तुको विविधतामाथि प्रश्न राखेका थिए । ‘तपाईंले एकातिर ग्रामीण कथालाई उठाउनुभएको छ भने अर्कोतर्फ जंगबहादुरको समयदेखि वर्तमान समाज, अस्ट्रेलियाको परिवेश, प्रेम सम्बन्ध र फिजीको जीवनलाई जोड्नुभएको छ,’ सरुभक्तले सोधे, ‘यसरी समानान्तर रूपमा फरक–फरक भूगोल र समयका कथावस्तु जोड्दा अलिकति असहज लागेन ?’
जवाफमा लेखक सजीले यिनै विविध आयामलाई न्याय गर्नकै लागि आफूलाई दोस्रो उपन्यास लेख्न नौ वर्ष लागेको बताए । ‘मेरो पहिलो कृति डार्लिङ हार्बर निस्कनुअघि नै मैले एउटा कथा तयार पारेको थिएँ,’ उनले स्मरण गरे, ‘तर आख्यानकारका रूपमा परिपक्व भएपछि मैले सोचेँ– के म वास्तवमै न्यायपूर्ण आख्यान लेख्न सक्छु ? हामी सानोमा खोलामा गाईबस्तु चराउन जाँदा एउटा घर देख्थ्यौं, जुन एक्लै बाँचिरहेको हुन्थ्यो । त्यो एक्लो घरको अस्तित्वले मभित्र प्रश्न जन्मायो र त्यहीँबाट ‘याली’ को बीउ रोपियो ।’
सजीका अनुसार पारिवारिक विछोड र सामाजिक परिवर्तनका तस्बिरले उपन्यासको स्वरूप निर्धारण गरेका हुन् । बुवा हेटौंडामा सिमेन्ट लिन जाँदा घरको मूल मान्छे हराउने सन्त्रास, कमाउनका लागि कलकत्ता जाने पुरानो चलन र आधुनिक समयमा वृद्धावस्थामा आश्रम पुग्नुपर्ने बाध्यतालाई उनले उपन्यासमा उनेका छन् । ‘सिड्नीमा बस्दा मैले वृद्धावस्थामा परिवारबाट टाढा भएका मानिसको चिसो शरीर र एक्लोपन देखेँ,’ उनले भावुक हुँदै भने, ‘यी कथाहरू किन नबचेका होलान् भन्ने लाग्यो । ती मरेका कथाहरूलाई पुनर्जीवन दिनु नै मेरो लेखनको उद्देश्य हो ।’
उपन्यासमा फिजी टापुमा रहेका नेपालीको डायस्पोरिक जीवन र इतिहासको दुःखद पाटोलाई पनि समेटिएको छ । फिजीमा उखु खेती र चिनी उत्पादनका लागि कलकत्ता हुँदै लगिएका नेपाली श्रमिकको कथा यसको महत्त्वपूर्ण पाटो हो । सरुभक्तले उपन्यासको प्रशंसा गर्दै भने, ‘कलकत्ताबाट उखु खेतीका लागि पानी जहाजमा दुई–तीन महिनाको कठिन यात्रा, बाटोमा हैजाको प्रकोप र उत्पीडितको त्यो मर्मान्तक कथा उपन्यासमा निकै मार्मिक रूपमा आएको छ ।’ सजीले थपे, ‘त्यो समयको सस्तो श्रम र नेपालीको पसिनाको कथा जटिल थियो । महामारीका बाबजुद मैले आफ्ना व्यक्तिगत कठिनाइ र पारिवारिक अनुभवलाई मिसाएर यो कथालाई गहिरो बनाउने प्रयास गरेको छु ।’
आफू ग्रामीण परिवेशमा भैंसी चराउँदै र गोरु जुधाउँदै हुर्केकाले कथा बुन्न सहज भएको सजीको अनुभव छ । सन् २०१० मा ‘इजलासमा लाहुरे फूल’ कवितासंग्रह प्रकाशित भएपछि मात्र आफूले साहित्यिक पहिचान पाएको उनले सुनाए । ‘त्यसअघि मैले आफ्नो परिचय लुकाएको थिएँ,’ उनले भने, ‘अस्ट्रेलिया पुगेपछि पनि मैले साहित्यलाई निरन्तरता दिएँ र डार्लिङ हार्बर पछि अहिले यालीमार्फत पाठकमाझ आएको छु ।’
बुकहिल पब्लिकेसनले प्रकाशन गरेको यालीले ग्रामीण जीवन, प्रवासी अनुभव, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई एकसाथ प्रस्तुत गरेको छ । लेखक सजीको यो दोस्रो उपन्यास पहिलो कृतिको तुलनामा अझ परिपक्व र जटिल संरचनामा रहेको पाठकको प्रारम्भिक प्रतिक्रिया छ ।
