हिन्दी कविता
काठमाडौं ।
साहित्यकार जितेन्द्र रसिकको चर्चित बालकथा कृति “बेलबहादुरसँग बिहे” को तेस्रो संस्करण आइतबार सार्वजनिक गरिएको छ। एजुकेश्नल पब्लिसिङ हाउसले आयोजना गरेको कार्यक्रममा बिक्री अधिकृतहरू भजन राउत, शिवराम श्रेष्ठ, गजेन्द्र ङाखुसी र रमण राउतलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
लोकार्पणसँगै काठमाडौँको जमलस्थित बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्रीसमेत सुरु गरिएको छ । नेवाः संस्कृति र संस्कार अन्तर्गत पर्ने ‘इहि’ परम्पराभित्र समेटिएको जीवन विज्ञानलाई कथात्मक रूपमा प्रस्तुत गरिएको यस कृतिमा नेवाः समुदायका बालिकाहरूको ‘इहि’ संस्कारमा प्रयोग हुने बेल फललाई कथाको नायकका रूपमा प्रस्तुत गरिएको कथाकार रसिकले जानकारी दिनुभयो ।
नेवारी परम्परा अनुसार ‘इहि’ गरिने समयमा बालिकाले दुलाहाको प्रतीक मानिने बेलप्रति देखाउने कौतुहलताबाट सुरु हुने यो कथा रोचक शैलीमा अगाडि बढ्ने प्रकाशकको भनाइ छ । कथाले बालबालिकालाई मनोरञ्जनसँगै संस्कार, संस्कृति र जीवनदर्शनबारे ज्ञान प्रदान गर्ने विश्वास गरिएको छ ।
एजुकेश्नल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठका अनुसार कथामा नेवारी परम्पराअनुसार ‘इहि’ गर्ने विधि संवादात्मक शैलीमा प्रस्तुत गरिएकाले पाठकलाई कथा पढ्दा चलचित्र हेरेजस्तै अनुभूति हुन्छ । ‘इहि’ परम्पराभित्र अमूर्त रूपमा रहेका जीवनविज्ञानका पक्षहरूलाई पनि सरल र बालमैत्री ढङ्गले उजागर गरिएको प्रकाशकको दाबी छ ।
कृति लोकप्रिय बन्दै गएपछि माग बढेकै कारण तेस्रो संस्करण प्रकाशन सम्भव भएको एजुकेश्नल बुक हाउसका भजन राउतले बताउनुभयो। कथामा स्व. एक्काराम सिंहका चित्र समावेश छन्। पुस्तकको मूल्य रु. २ सय ४५ तोकिएको छ ।
साहित्यकार जितेन्द्र रसिकका हालसम्म ८ वटा बालसाहित्य कृति र अन्य विधाका १० वटा कृति गरी १८ कृति प्रकाशित भइसकेका छन् । निकट भविष्यमा फरक प्रकाशन गृहबाट बाल उपन्याससमेत बजारमा ल्याउने तयारीमा रहेको लेखकले जानकारी दिनुभएको छ ।
