English Poem
पोखरा ।
पोखरेली स्रष्टा तथा छन्दनायक माधव वियोगी २०८२ सालको कविशिरोमणि लेखनाथ पुरस्कारबाट शनिबार सम्मानित हुनुभएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढी, झापाद्वारा सञ्चालन गरिएको उक्त पुरस्कार लामो समयदेखि छन्द बचाऔँ अभियान र महाकाव्य लेखन अभियानमा सक्रिय रहँदै छन्द र महाकाव्यको पुनर्जागरणमा उल्लेख्य योगदान पु¥याएबापत वियोगीलाई प्रदान गरिएको हो ।
लेखनाथ पुस्तकालयको सभाहलमा आयोजित पुरस्कार वितरण समारोहको उद्घाटन तथा पुरस्कार अर्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मुनाराज शर्माले लोपोन्मुख हुँदै गइरहेका छन्द र महाकाव्यलाई पुनर्जीवित गर्न अभियानकै रूपमा एक्लै खटिरहेका वियोगीले नेपाली भाषा–साहित्यको विकासमा गहिरो र महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । उहाँले कविशिरोमणि लेखनाथ पुरस्कार योग्य व्यक्तित्वको हातमा परेकोप्रति खुशी व्यक्त गर्दै लेखनाथ पुस्तकालयले स्थापना कालदेखि नै भाषा–साहित्यको संरक्षण र प्रवद्र्धनमा उल्लेखनीय कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रा. कृष्ण सुवेदी ‘निराका’ले छन्दनायक वियोगीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै छन्द आन्दोलन र महाकाव्य लेखन अभियानमार्फत् छन्द र महाकाव्यमा नयाँ चेतना भित्र्याउने कार्यमा उहाँ निरन्तर लागिरहेको बताउनुभयो । छन्द विश्वविद्यालय स्थापनाको विषयलाई समेत अभियानका रूपमा उठाउनु वियोगीको समर्पणको प्रमाण भएको उहाँको भनाइ थियो। उहाँले यो पुरस्कार प्रत्येक वर्ष एकजना विशिष्ट साधकलाई राष्ट्रियस्तरमा प्रदान गरिँदै आएको र यसअघि मोक्ष खतिवडा (झापा), भवानी खतिवडा (काठमाडौं) र भावना खनाल (पाल्पा) पुरस्कृत भइसकेको जानकारी दिनुभयो ।
प्रतिभा छनोट समितिका संयोजक होम सुवेदीले गुणस्तरीय काव्य सिर्जना तथा जनजागृतिमूलक अभियानमार्फत भाषा–साहित्यको सेवा गर्दै आएका, साथै लेखनाथकै जन्मभूमिमा जन्मिएका वियोगी सम्मानयोग्य प्रतिभा भएको उल्लेख गर्नुभयो । कार्यक्रममा महाकाव्यकार छन्दमणि त्रिपाठीले महाकवि लेखनाथको योगदानमाथि चर्चा गर्नुभयो भने विभिन्न साहित्यकारहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कविहरू शिव त्रिपाठी, निर्मला बास्तोला, इन्द्रनारायण सुवेदी, कृष्णप्रसाद मिश्र, शुभ शर्मालगायतले कविता वाचन गर्नुभएको थियो ।
छन्ददिवसका प्रणेतासमेत रहेका पुरस्कृत व्यक्तित्व छन्दनायक माधव वियोगी जनप्रिय बहुमुखी क्याम्पस, पोखराका पूर्व प्रमुख हुनुहुन्छ। विभिन्न शैक्षिक संस्थामा लामो समय सेवा गरिसक्नुभएको उहाँ हाल सेवानिवृत्त भइसक्नुभएको छ भने गृह पुस्तकालय अभियानका गण्डकी प्रदेश संयोजकसमेत हुनुहुन्छ । छन्द विश्वविद्यालय स्थापनाका लागि निरन्तर कसरत गरिरहेका वियोगीका हालसम्म १० महाकाव्य, ८ खण्डकाव्य, २ कविता सङ्ग्रहसहित गीत, गजल, मुक्तक, निबन्ध, उपन्यास, कथा र समालोचनालगायत ४२ कृति प्रकाशित छन्। यसअघि उहाँले कृष्णकुमारी गुरुङ पुरस्कार, दुल्लभ लामिछाने पुरस्कार, राधालक्ष्मी पुरस्कार, छन्दरथी पुरस्कार, जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार, सूर्य केसी साहित्य उन्नयन पुरस्कार, महाकवि देवकोटा पुरस्कारलगायत दुई दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिस सक्नुभएको छ ।
कार्यक्रममा अन्य विभिन्न स्रष्टाहरूलाई पनि सम्मान गरिएको थियो । लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महाकाव्यकार हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन सचिव हरिकिशोर आचार्यले गर्नुभएको थियो । कार्यक्रममा १० जना पोखरेली स्रष्टासहित उल्लेख्य साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
