कविता हिन्दी
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले २०८२ सालमा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार आउँदो माघ १७ गते विराटनगरमा आयोजना हुने विशेष समारोहका बीच उक्त पुरस्कारहरू समर्पण गरिँदै छ ।
प्रतिष्ठानले यस वर्ष नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रू.१५ हजार) नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रका अत्यन्त प्रभावशाली र बहुआयामिक व्यक्तित्व प्राडा गोविन्दराज भट्टराईलाई र मनमाया दाहाल र उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु.१५ हजार) नेपाली कविता, समालोचना, बालसाहित्य र अनुसन्धानको क्षेत्रमा निरन्तर क्रियाशील रहेर नेपाली साहित्यको श्रीवृद्धि र प्रवद्र्धनमा योगदान पुर्यएकी साहित्यकार डा. कौशिला रिसाललाई अर्पण गर्ने भएको छ ।
त्यस्तै साहित्यकार तारानाथ पोखरेलले मातापिताको स्मृतिमा स्थापना गरेको छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु.११ हजार) पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र कुशल संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्यएका वरिष्ठ साहित्यकार मधु पोखरेललाई र दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) नेपाली मुक्तक साहित्यका एक समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई प्रदान गरिने भएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका सचिव मदन भण्डारीको अनुसार उक्त प्रतिष्ठानबाट गठित ५ सदस्यीय पुरस्कार छनोट समितिले पुरस्कार समर्पण गरिने व्यक्तिहरूको छनौट गरेको हो ।
