वसन्तवेला
विजेता चौधरी कर्ण
पुष, १०, काठमाडौं ।
‘मिथिला कसमसः कला एक तीर्थ यात्रा’ शीर्षकमा मिथिला चित्रकलाका वरिष्ठ चित्रकार एससी सुमनका सातौं चित्रकला पर्दशनी सिद्धार्थ आर्ट ग्यालरीमा जारी छ । सुमनको यस पटकको कलायात्रा श्रृखला भने दार्शनीक छ । उहाँले मिथिला चित्रकलाका विभिन्न आकृतिहरू अरिपन(भूमिकला) र गोदना(अंग लेखन÷कला)को संयोजनमा बह्माण्ड र विभिन्न सभ्यता तथा उत्पत्तिको कथालाई क्यानभासमा उकेर्नु भएको छ । अर्को विशेषता भनेको प्रायः चित्रहरूमा प्राकृतिक रंगको अद्भूत प्रयोग देख्न सकिन्छ । जो मिथिला चित्रकलाको प्राचीन परम्परा र शैली रहेको छ ।
वरिष्ठ चित्रकार सुमन सुनाउँनुहुन्छ, “मैले केही चित्रहरूमा अरिपन, चित्ते चित्र र गोदना (शरिरमा बनाइने कला)को प्रयोग गरेको छु । यी हाम्रा प्रारम्भिक मिथिला चित्रकलाका नमूना हुन् । यसका साथै मेले क्यान्भासमा र नेपाली कागजमा परम्परागत रङहरू, फूलको रस र गाईको गोबरलगायतको प्रयोग गरेको छु । यी हाम्रा परम्परागत–प्राकृतिक चित्र शैली हुन् भन्दा हुन्छ, जसलाई जोगाइराख्ने मेरो व्यक्तिगत प्राण पनि हो ।”
उहाँले चित्रमा काठमाडौँ उपत्यकाको उत्पत्ति र मायादेवीको सपना, गौतम बुद्धको जन्म र बौद्ध दर्शनलाई मिथिला चित्रकलाको माध्यमबाट अभिव्यक्त गुर्नभएको छ । पशुपतीको प्राकाट्य, पशुपतक्षेत्र सभ्यता र विस्तार आदि सबै उहाँको मिथिला चित्रकलाको यस पटकको प्रदर्शनीको आर्कषण रहेको छ । कलाप्रेमी र पारखीहरूलाई, चित्रकलामा उहाँको गहिरो चिन्तन र आफ्नो पृष्ठभूमिप्रतिको अगाध प्रेमको झल्को प्रायः प्रत्येक चित्रकलाले दिनेनै छ ।

चित्रकलाका माध्यमबाट उहाँले प्राचीन गाथा पस्किनुभएको छ, जसमा कल्पवृक्ष र समुद्रमन्थनका कथाहरू छन् । वरिष्ठ चित्रकार सुमन सुनाउँनुहुन्छ, “समुन्द्र मन्थनबाट नै कल्पवृक्ष निस्क्यो जसको कल्पना हिन्दुइजमा गरिएको छ जो मानव जीवनसँग प्रत्यक्ष जोडिएको छ । वृक्षपुजन मिथिला संस्कार र संस्कृतिमा समाहित छ । वास्तवमा मिथिला चित्रकलालाई हेर्नुभयो भने त्यो प्रकृतिसँग नजिक रहेको महसुस गर्नसक्नुहुनेछ । त्यहिभएर पनि यस श्रृखलाको नाम मिथिलाको ब्रह्माण्ड अथवा कल्पवृक्ष राखिएको हो ।”
वृक्ष र प्रकृति मिथिला चित्रकलाको अभिन्न हिस्साको रूपमा रहँदै आएको छ । यद्यपि कल्पवृक्ष भने एकप्रकारले सुमनको सिग्नेचर बनेको छ । चित्रकलाबाट उहाँको नाम हटाइदिए पनि उहाँका प्रसंशक र पारखीहरूले ‘यो सुमनको चित्रकला हा’े भनेर सजिलै छुट्याउन सक्छन् ।

उहाँको चित्रकलामा वृक्षको आकार प्रायः गोलो सेपमा देखिन्छ । ‘किन गोलो ?’ सुमन व्याख्या गर्नुहुन्छ, “जब समय र स्पेश प्राप्त हुन्छ अनि कुनैपनि वस्तुले पूर्णता पाउँछ, जस्तो समय नै क्लकवाइज चल्छ, समायको चलाई एक विन्दुबाट अर्को विन्दुसम्म पुग्न गोलफन्को मार्छ अर्थात वृत्ताकार घुम्छ । त्यस्तै ब्रह्माण्ड नै पनि गोलो छ, शून्यको आकार पनि त गोालो छ । वृक्षले पनि त मौसमको एक फन्को अर्थात उउटा साइकल तय गर्छ, मेरो कलाकार मनले वृत्ताकारलाई त्यसरी नै बुझेको छ । त्यहिभएर मेरो चित्रकलामा वृक्षको आकार गोालो बनेर आउँछ, यो पूर्णतहः एउटा कालकारको कल्पना हो । अर्को कुरा मैले चित्रकलामा पातको रङ पनि फरक फरक गरेको छु,। धेरैले भन्नुहुन्छ, रुखको पात पनि कहिं सुन्तला र निलो रङको हुन्छ ? एउटै रुखको पातलाई यदि तपाईंंले ३ सय ६५ दिन हेर्नुभयो भने कहिले नयाँ पालुवा आउँछ, कहिले हरियो, पहेँलो हुँदै रंग फेर्दैजान्छ अर्थात मौसमको एउटा चक्र, एउटा साइकल तय गर्छ, त्यहि साइकललाई मैले चित्रमा उकेरको हुन्छ । र अवलोकनतर्काका यस्ता प्रश्नहरू मलाई असाध्यै मन पर्छ, एउटा
जिज्ञासा पैदा हुनु स्वभाविक पनि हो ।” वास्तमा वृक्षको गोलाकारले पनि चित्रलाई निकै आकर्षक बनाएको छ । यो वृत्ताकार वृक्ष नै पनि सुमनको सिग्नेचर बनेको छ ।

मिथिला चित्रकलामा क्यालिग्राफीको अद्भुत प्रयोग
वरिष्ठ चित्रकार सुमनले चित्रकलाका क्यालिग्राफीको प्रयोग गर्नुभएको छ । जसले मिथिला चित्रकलालाई झनै सम्मोहक बनाएको छ । पृष्ठभूमिमा कलात्मक अक्षर र रङको संयोजनसहित दुर्गासप्तशती लेखिएको क्यालिग्राफीक चित्रमा महिषासुर मर्दिनी दुर्गाको भव्य चित्र बनाइएको छ भने तलको अर्को लहरमा जसलाई पारम्परिक भाषामा बोर्डर भनिन्थ्यो त्यहाँ देवीका विभिन्न अवतारलाई उकेर्नुभएको छ । यो वास्तवमा सुमनको आफ्नो शैली हो ।
त्यस्तै अर्को एक चित्रमा गीतासार लेखिएको छ भने कृष्ण जन्मकथालाई दर्शाइएको छ । सुमन सुनाउँनुहुन्छ, “मैले गीतासारलाई कसरी बुझें र जुन सारले मलाई प्रभावित गर्यौ वा सबैलाई प्रभावित गरिरहेको छ त्यसैलाई मैले चित्रकलामा उतार्ने प्रयास गरेको छु । क्यालिग्राफी त पहिले पनि थियो तर मैले मिथिला चित्रकलामा देखोको छैन । यसको सुरुवात मैले गरेँभन्दा हुन्छ । एउटा कलाकार जो पटक पटक प्रदर्शन आयोजन गर्छ, उनले केही त नयाँ ल्याउनै पर्ने हो भन्ने मेरो मान्यता छ । एउटा चित्रकारले कहाँ के नयाँ गर्नसक्छ भनेर निरन्तर चिन्तनशील रहनुपर्छ । मिथिला चित्रकलामा क्यालिग्राफीको प्रयोग पनि नयाँ केही गरौंको हिस्सा नै हो ।”
सुमन सुनाउँनुहुन्छ, “म सन् २०१४ मा चीन भ्रमणमा गएको थिएँ, त्यहाँ मैले भव्य क्यालिग्राफी चित्रकलाहरू देखेँ, अनि मैले उत्तिनैखेर यो प्रयोग मिथिला चित्रकलामा गरेर केही नयाँपन ल्याउन सकिन्छ भन्ने सोचें । मैले आफ्नो चित्रहरूमा अहिले देवनारिकमै लेखेको छु तर विस्तारै त्यो स्तोत्रहरू तीरहुता लिपिमा ल्याउने मेरो सोच छ । त्यो आउँछ नै । पहिले गणेशको श्लोकबाट सुरुगरेर मण्डला आदिमा क्यालिग्राफी चित्रहरू कोर्दै विगत दश वर्षदेखि छिटपुट रूपमा क्यालिग्राफीलाई मिथिला चित्रकलामा ल्याउन प्रयास गर्दैआएको छु, जो पछिल्लो सयम अलि बढेको छ ।”
वस्तवमा क्यालिग्राफी मिथिला चित्रकलामा कलाको हिसाबले यो प्रथम प्रयोग हो, जो यतिबेला सुमनको सिग्नेचर बनेको छ ।
प्रदर्शनीमा १४ वर्षे वनबासमा हिँड्न लाग्नुभएको भगवान रामसीतालाई सरयू नदी तार्दाको दृश्यलाई कलात्मक रूपमा चित्रकलामा उतारिएको छ । त्यस्तै रावणको अशोक वाटिकाको दृश्य सहितको अर्को एक चित्रमा रावणको दशवटा टाउको र महादेवप्रति रावणको भक्तिसहितको चर्चित अशोक वाटिका अध्याय एउटै चित्रमा समाहित भएको छ । त्यस्तै मिथिलाको होली, छठ पर्व र जानकी मन्दिर तथा मिथिलाको सभ्यतालगायत अनेक चित्रले हामीलाई इतिहासतिर फर्काउँछ नै । साथै पारम्परिक मिथिला चित्रकलामा प्रायः प्रयोग हुने हात्ति, माछा, बिरालो र नरिवलको वृक्ष, जो भित्तेचित्रको एक प्रकार हो, आदिलाई उहाँले एउटा कथाको शैलीमा पस्किनुभएको छ । यही नै सुमनको गजबको फ्यान्टासी हो, जसले उहाँलाई अन्य कलाकारभन्दा फरक र विशिष्ठ तुल्याउँछ ।

निलो रङसँग खेल्नु सुमनको लामो प्रयोग र प्रयाक्टिस
उहाँको चित्रमा देखिने निलो रंगको वृह्त क्यानभास अथवा निलो रंगको प्रयोग नै पनि उहाँलाई चिनाउन काफी छ ।
सुमनका अनुसार, “निलो रङ शान्ति र निर्भयताको प्रतीक हो, यसो त कतिले यसलाई उदासिनताको रङ पनि भन्नुहुन्छ तर म यसलाई खुशी, शान्ति र निडरताको प्रतीकको रुपमा प्रयोग गर्छु । प्रायः भिजिटरहरुलाई मेरो यो रंगको प्रयोग मनपरिरहेको छ । प्रायः कलाकारहरू निलो रङलाई निर्धक्कसँग प्रयोग गर्न हच्किन्छन् तर यो रङसँग खेल्नु मेरो लामो प्रयोग र प्रयाक्टिस रहेको छ ।”
हुन पनि कुनै कलाकारलाई आफ्नो सिग्नेचर स्थापित गर्न लामो यात्रा तय गर्नुपर्छ नै । उहाँको चित्रकलाको यात्रापनि लामो छ । सानैदेखि चित्रकलामा पोख्त सुनमनले यसलाई आफ्नो जीवनकर्म बनाउँदा धेरैलाई पत्याउन गाहे परेको थियो । मिथिला चित्रकला बास्तवमा विमेन डोमिनेटिगं अर्थात महिलाको एकछत्र रहेको विधा हो, जसमा पुरुष कलाकार कमैमात्र देखिन्थे । तर मिथिलाञ्चलको भाष्यलाई भत्काउँदै उहाँ चित्रकलामा पूर्णकालीक चित्रकार बन्न रुचाउनुभयो र यहीबाट सुरु भयो उहाँको उचाइको यात्रा पनि । यो यात्रा सचिलो पक्कै थिएन, मिथिला चित्रकलालाई विश्वसामु पुर्याउने कौशल उहाँले आफूभित्र निर्माण गर्दै आज यो स्थानमा आइपुग्नु भएको हो । उहाँको यो कलायात्रा ४० वर्ष पारगरिसक्यो र जति जति हामी उहाँको चित्रकलालाई बुझने र जान्ने कोसिस गछौैं उहाँको कल्पनाशिलताले हामीलाई त्यति नै चमत्कृत पार्छ । प्रायः कचिया शैली(मिहिन आकृति), चटक तर सौम्य रङ र विशेष थिमसहित उहाँका चित्रकलाले मुग्ध पार्छ ।
सुमनका चित्रकलालाई देशविदेशमाझ प्रदर्शनीको आयोजना गर्ने मिथिला सेन्टर युएसएका संस्थापक नवलकिशोर यादव भन्नुहुन्छ, “सुमनको चित्रकला फरक उचाइको छ । प्रायः मिथिला संस्कृति र परम्पारा कोर्ने परिपाटि विपरित उहाँको चित्रकलामा नयाँ डायमेन्स पाउँछौं हामी । मिथिला समाज र दर्शनलगायत महाभारत, बुद्धजीवनदर्शन उहाँको चित्रमा विविधता पाइन्छ जसले उहाँको दृष्टिकोणलाई जनाउँछ । अर्कोकुरा उहाँको रंगहरूको संयोजन अद्भूत छ । मिहिन चित्रकारी र गहिराइ छ समुनको चित्रकारीमा ।”
सिद्धार्थ आर्ट ग्यालरी प्रमुख संगीता थापा भन्नुहुन्छ, “सुमनको चित्रमा एकटा फरकपन छ । मिथिलाको संस्कृति र समाज उहाँको चित्रमा अटाएको छ । त्यस्तै आफू बसेको वरपर, सभ्यता र इतिहास जो मान्छे बिर्सिदैं गएको छ त्यो उहाँको कामाले हामीलाई पुनः सम्झाउँछ । उहाँ आधुनिक सोच र अध्ययनका साथै पारम्परिक कलालाई मनन गरेर एक ठाउँमा ल्याउने कलाकार हुनुहुन्छ ।”
सुमनको कला यात्राको यो २३ औँ एकल कला प्रदर्शनी हो भने मिथिला कसमसको यो सातौँ शृङ्खला हो । सद्धार्थ आर्ट ग्यालरी प्रमुख संगीता थापा भन्नुहुन्छ, सुमनले हाम्रै ग्यालरीबाट कसमस शृङखलाको थालनी गर्नुभएको थियो । जो आज सातौं श्रृखलाको रूपमा जारी छ । यो कला प्रदर्शमा ३३ वटा चित्रकला राखिएको छ जो २०२२ देखि ०२५ सम्म बनाइएका हुन् । कला प्रदर्शनी जनबरी १० अर्थात पुष २६ गतेसम्म जारी रहने थापाले जानकारी दिनुभयो ।