लघु कथा
झापा ।
इलामको रोङ गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर परिसरमा सात सर्जकका सातै कृति लोकार्पण गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्मा रहनु भएको थियो भने उन्मुक्त साहित्य सङ्गमका अध्यक्ष मिलन राईले अध्यक्षता गर्नुभएको थियो । ‘उन्मुक्त साहित्य संगम’ रोङको आयोजनामा पूर्वका स्थापित सात सर्जकका पछिल्ला सात कृतिहरू एकै थलोमा बृहत् लोकार्पण गरिएको हो । पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिको समन्वयमा भएको कार्यक्रममा कविता,निबन्ध र आख्यान विधाका सात फरक–फरक कृतिहरूको लोकार्पणपछि कार्यक्रममा कविहरुले सुन्दर र शक्तिशाली कविता वाचन गरेका थिए ।
कार्यक्रममा समकालीन नेपाली साहित्यका चर्चित स्रष्टाहरू हाङ्युग अज्ञातको ‘हाङ्युग अज्ञातका कविताहरू’,कविता राई गाउँलेको ‘फाटकमा घाम’ गणेश निरौलाको’कनाटा कैरनझर ‘कोठेबारी ढुङ्गा र माटो’,कृष्ण उदाशीको ‘पानीको पर्खाल’, दीपेन्द्र आचार्यको ‘व्यापार पृथ्वीको’, ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ र दर्शन घिमिरेको ‘हृदयको उल्टो यात्रा’ कृति लोकार्पण गरिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा कवि हाङ्युग अज्ञात भने अनुपस्थित रहेको स्रष्टा सुनिता तामाङले बताइन् ।
उन्मुक्त साहित्य पुस्तकालय सहयोगार्थ दान पेटिकाको समेत कार्यक्रममा उद्घाटन गरियो। कार्यक्रमको सहजीकरण सुनिता तामाङले गरेकी थिइन् । साहित्यिक पर्यटनलाई समेत टेवा पुरयाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले पूर्वको साहित्य र सिर्जनाको वर्तमान अवस्थालाई उजागर गर्ने विश्वास गरिएको छ । प्राकृतिक सुन्दरता र आध्यात्मिक उर्जाले भरिएको पाथीभरामा भएको यो साहित्यिक अनुष्ठानमा इलाम, झापा, पाँचथर लगायतका छिमेकी जिल्लाहरूबाट समेत साहित्यप्रेमीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
