समाचार
काठमाडौं ।
सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८औँ स्थापना दिवस २०८२ को अवसरमा प्रदान गरिने विभिन्न पुरस्कार तथा अभिनन्दनको घोषणा गरेको छ । प्रतिष्ठानका अनुसार आगामी माघ १७ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहका बीच ती पुरस्कार तथा सम्मान वितरण गरिनेछ । प्रतिष्ठानले यस वर्ष साहित्यकार प्रा.डा. अभि सुबेदीलाई अभिनन्दन गर्ने निर्णय गरेको छ । नेपाली र अङ्ग्रेजी दुवै भाषामा समानान्तर कलम चलाउँदै आउनुभएको डा. सुबेदी समालोचक, भाषाविद्, नाटककार, अनुवादक, कवि तथा सम्पादकका रूपमा परिचित हुनुहुन्छ । नेपाली साहित्य र नाट्यचिन्तनमा उहाँको योगदान उल्लेखनीय मानिन्छ ।
घोषित अन्य पुरस्कारहरूमा गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार (रु. २५ हजार) चर्चित साहित्यकार खगेन्द्र सङ्ग्रौलालाई प्रदान गरिनेछ ।त्यस्तै सुरभि–बाजुराम आख्यान साधना पुरस्कार (रु. २५ हजार) कथाकार तथा बालसाहित्यकार सुशीला प्रधानाङ्गलाई अर्पण गरिने भएको छ । सुरभि–विजय वाङ्मय पुरस्कार (रु.५१ हजार) साहित्यकार तथा समालोचक ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिनेछ । सुरभि–रमाबद्री निबन्ध पुरस्कार (रु.२५ हजार) निबन्धकार तथा सम्पादक रामप्रसाद पन्तलाई अर्पण गरिनेछ । प्रतिष्ठानले जनाएको अनुसार पुरस्कार छनोट समिति संयोजक युवराज मैनालीसहित अच्युत घिमिरे र आलोक चालिसे सदस्य रहेको तीन सदस्यीय समिति रहेको छ । उक्त विवरण प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।
यसैबीच, सुरभि साहित्य प्रतिष्ठानले २०८३ सालदेखि प्रदान गर्ने गरी ‘सुरभि समालोचना पुरस्कार’ स्थापना गर्ने निर्णयसमेत गरेको छ । यो पुरस्कार कीर्तिशेष विशिष्ट समालोचकहरू मोतीराम भट्ट, रामकृष्ण शर्मा, सूर्यविक्रम ज्ञवाली, यदुनाथ खनाल, हृदयचन्द्र सिंह प्रधान र कृष्णचन्द्र सिंह प्रधानका नाममा समर्पण गरिनेछ । उक्त पुरस्कारका लागि समाजसेवी वसन्त रिजाल र प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सहयोगमा रु. २ लाख २५ हजारको अक्षयकोष स्थापना गरिएको छ । रु.२५ हजार राशिको पुरस्कार हरेक वर्ष फरक–फरक समालोचकको नाममा समर्पण गरिने प्रतिष्ठानका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सुरभि साहित्य प्रतिष्ठानको यो घोषणालाई नेपाली साहित्यमा स्रष्टा सम्मान र समालोचनाको परम्परालाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
