• २०८२ पुष २५, शुक्रबार

बद्री ढकाल हिरामणिको कृति ‘मुकुर’ विमोचित

कोहलपुर ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको आयोजनामा लघुकथाकार बद्री ढकाल हिरामणिको लघुकथा कृति ‘मुकुर’ एक विशेष समारोहबीच विमोचन तथा विमर्श गरिएको छ । प्रतिष्ठानले प्रकाशनमा ल्याएको उक्त कृतिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सभाका सदस्य महानन्द ढकाल, पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, कृतिकारकी आमा लगायतले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महानन्द ढकालले पूर्णिमा साहित्य प्रतिष्ठानका कृतिगत उपलब्धिको चर्चा गर्दै ‘मुकुर’ थप एउटा महत्वपूर्ण इँटा भएकोमा खुशी व्यक्त गर्नुभयो । बहुप्रतिभाशाली कथाकार बद्री ढकालको कथाकारिता यस कृतिमा सशक्त रूपमा व्यक्त भएको उल्लेख गर्दै उहाँले विविध विषयवस्तु समेटिएका पठनीय लघुकथाहरूको सँगालोका रूपमा ‘मुकुर’ आएको बताउनु भयो ।

कृतिमाथि समालोचक डा. हरिप्रसाद तिमिल्सिनाले समीक्षात्मक विश्लेषण प्रस्तुत गर्दै समसामयिक सामाजिक, शैक्षिक र राजनीतिक संवेदनालाई ‘मुकुर’ले प्रभावकारी रूपमा समेटेको धारणा राख्नुभयो । उहाँले कृतिको संरचना, पात्र र परिवेशका पक्षहरूमाथि समेत प्रकाश पार्नुभयो । अर्का समीक्षक प्रमोद सुवेदीले ‘मुकुर’को अङ्ग्रेजी अनुवाद पक्षमा भाव, संस्कृतिचेतना, शब्दचयन र काव्यिक ओज सबै हिसाबले उत्कृष्टता देखिने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष डा. पुष्कर रिजालले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित ‘मुकुर’ले नेपाली पाठकसँगै कोहलपुरको साहित्यलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । विमोचन कार्यक्रममा प्राज्ञ शशिराम कार्की, लघुकथाकार जितबहादुर शाह, छविलाल खड्कालगायतले शुभकामना मन्तव्य राख्दै कृतिबारे आफ्ना धारणा प्रस्तुत गर्नुभयो । पूर्णिमाका सल्लाहकार सागर गैरेले कृतिकार र संस्थाको परिचयात्मक जानकारी दिनुभयो भने कृतिकार बद्री ढकालले सहभागीहरूका जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा भारतको भोपालबाट साहित्यकार शारिक रब्बानीसहित बाँकेका प्रा.डा. जनार्दन आचार्य, डा. इन्द्र भण्डारी, डा. राजकुमार थारू, इन्द्र वस्नेत, किरण आचार्य, कल्पना पौडेल जिज्ञासु, खगेन्द्र गिरि ‘कोपिला’, मणि अर्याल, सुमित्रा न्यौपाने, ईश्वरी रिजाल, कपिल अन्जान, नवीन अभिलाषी, विष्णु पादुका, एकराज शर्मा, चरित्रा शाह, खगेन्द्र अतललगायत दाङ, बर्दिया, पोखरा, धनगढी आदि क्षेत्रका सात दर्जनभन्दा बढी साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो । संस्थाकी उपाध्यक्ष देवकी निरौलाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव केशव निमेषले गर्नुभएको थियो ।